नेपाल र भारतबीच सदियौ देखि धार्मिक, सांस्कृतिक, सामाजिक तथा पारिवारिक सम्बन्ध रह“दै आएको छ । दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने महत्वपूर्ण माध्यम धार्मिक पर्यटन पनि हो । यही सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले जनकपुरधाम र भारतको अयोध्याबीच सुरु गरिएको सरयू–कमला एक्सप्रेस रेल सेवा सकारात्मक उपलब्धि हो ।
माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई रेलमार्गबाट जोड्नु सामान्य यातायात सेवा विस्तार मात्र होइन, दुई देशको साझा धार्मिक तथा सांस्कृतिक विरासतलाई जोड्ने ऐतिहासिक प्रयास हो । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको रेल सेवा व्यावसायिक रूपमा सञ्चालनमा आउनु दुवै देशका नागरिकका लागि खुसीको विषय हो ।
विशेषगरी जनकपुरधाम र अयोध्याबीच धार्मिक आस्था राख्ने लाखौ श्रद्धालुलाई यसले सहज आवागमनको अवसर प्रदान गर्ने छ । यसअघि लामो र झन्झटिलो यात्रा गर्नुपर्ने तीर्थयात्रीले अब रेलमार्गबाट तुलनात्मक रूपमा सहज यात्रा गर्न पाउनेछन् । विवाह पञ्चमी, रामनवमी तथा अन्य धार्मिक पर्वमा दुवै क्षेत्रका नागरिकबीच हुने आवतजावतलाई यसले थप सहज बनाउने अपेक्षा गर्न सकिन्छ ।
नेपाल र भारतबीच धार्मिक पर्यटनको ठूलो सम्भावना छ । जनकपुरधामको जानकी मन्दिर र अयोध्याको राममन्दिरलाई जोडेर धार्मिक पर्यटनको विशेष मार्ग विकास गर्न सकिन्छ । यसले धार्मिक पर्यटकको संख्या बढाउनुका साथै होटल, यातायात, व्यापार, हस्तकला तथा स्थानीय उत्पादनको बजार विस्तारमा समेत सहयोग पु¥याउने छ ।
पर्यटनबाट प्राप्त हुने आर्थिक लाभ स्थानीय समुदायसम्म पु¥याउन सके यसले रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान दिन सक्छ । रेल सेवा सञ्चालन हु“दैमा धार्मिक पर्यटन स्वतः विस्तार हुदैन । यसका लागि नेपालतर्फका सम्बन्धित निकायले आवश्यक पूर्वाधार, प्रचारप्रसार र पर्यटकमैत्री सेवा विस्तारमा ध्यान दिनुपर्छ ।
जनकपुरधाम आउने पर्यटकलाई जानकी मन्दिर, राममन्दिर, विवाहमण्डप, मिथिला कला, संस्कृति र परम्परास“ग परिचित गराउने व्यवस्थित कार्यक्रम आवश्यक छ । धार्मिक स्थलको संरक्षण, सरसफाइ, आवास, खानपान र सुरक्षाको उचित व्यवस्था पनि उत्तिकै महत्वपूर्ण छ ।
पर्यटकलाई आकर्षित गर्ने मात्रै होइन, उनीहरूलाई सम्मानजनक र सहज सेवा प्रदान गर्ने वातावरण बनाउनु पर्छ । सरयू–कमला एक्सप्रेसको नियमित सञ्चालन पनि सुनिश्चित गर्न आवश्यक छ । रेलको समयतालिका, टिकट वितरण, भाडादर र यात्रु सुरक्षामा दुवै देशका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुनुपर्छ ।
नेपाली यात्रुले नेपालबाटै सहज रूपमा टिकट लिन सक्ने व्यवस्था मिलाउनुका साथै अनलाइन टिकट प्रणालीलाई पनि व्यवस्थित बनाउनु पर्छ । नेपाली नागरिकका लागि परिचय पत्रका आधारमा यात्रा गर्न सकिने व्यवस्थाबारे पर्याप्त जानकारी प्रवाह गर्नुपर्छ । नेपालका लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ लगायत धार्मिक क्षेत्र र भारतका विभिन्न धार्मिक स्थलबीच पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।
त्यसैले नेपाल र भारत दुई देशबीचको धार्मिक सम्बन्धलाई आर्थिक, सांस्कृतिक र सामाजिक सम्बन्धमा रूपान्तरण गर्न जनकपुरधाम–अयोध्या रेल सेवालाई निरन्तारता दिन जरुरी छ ।

