असोज २० धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भोलि (बुधबार) प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट पेश गर्ने तयारी गरेको छ । अहिले बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने बजेट प्रस्तुत गर्ने कार्यतालिका अनुसार प्रदेश सरकारले भोलि (बुधबार) प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट पेश गर्ने तयारी गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलका अनुसार सबै मन्त्रालयले योजना तथा कार्यक्रम पेश गरिसकेका छन् । अहिले बजेट वक्तव्य तयार गर्ने लगायतका अन्तिम प्राविधिक काम भइरहेको उनले बताए । ‘सबै मन्त्रालयले योजना पेश गरिसकेका छन् ।
अहिले बजेट वक्तव्य तयार गर्ने तथा अन्य अन्तिम प्राविधिक काम भइरहेको छ,’ मन्त्री रावलले भने । बजेट पेश गर्ने तयारीसँगै प्रदेशसभामा पनि त्यसको चहलपहल बढेको छ । आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको सभामुख भीम भण्डारीले जानकारी दिए ।
उनका अनुसार बैठकमा भोलि बजेट प्रदेशसभामा पेश गर्ने तथा त्यसपछि सञ्चालन हुने बैठकको कार्यसूची र प्रक्रियाबारे छलफल भएको बताए । बुधबार साँझ ५ बजे प्रदेशसभा बैठक आह्वान गरेर बजेट पेश गर्ने तयारी भइरहेको जानकारी पाएको सभामुख भण्डारीले बताए ।
यसअघि तत्कालीन प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा पेश गरेको थियो । तर, बजेट पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेश लामो समय देखि बजेटशून्यताको अवस्थामा छ ।


