असोज १४ डोटी । डोटीको दुर्गम क्षेत्रका रूपमा चिनिने बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर–१ सिमचौरमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । विकासका पूर्वाधार विस्तारसँगै स्थानीयको जनजीवनमा परिवर्तन आउन थालेको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर–१ सिमचौरमा ८२ लाख रुपैयाँको लागतमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको हो ।
संघीय सरकारको सम्पूरक बजेटबाट ८० प्रतिशत र बोगटान फुड्सिल गाउँपालिकाको २० प्रतिशत लगानीमा निर्माण गरिएको भवनको दशैंपछि उद्घाटन गर्ने तयारी रहेको वडा नंम्बर १ का वडा अध्यक्ष खेम घर्ती मगरले जानकारी गराए । नवनिर्मित स्वास्थ्य चौकीबाट सामान्य स्वास्थ्य परीक्षण तथा उपचार, प्राथमिक स्वास्थ्य सेवा, मातृ तथा शिशु स्वास्थ्य, खोप, परिवार नियोजन, पोषण, औषधि वितरण तथा स्वास्थ्य परामर्श लगायतका सेवा उपलब्ध हुने बताईएको छ ।
सिमचौरसँगै काटै, मौडा, पान्स, छिडिखान, झ्यामतोला र लफाडा लगायतका बस्तीका स्थानीय समेत यसबाट लाभान्वित हुने भएका छन् । वडा अध्यक्ष घर्ती मगरका अनुसार वडा नंम्बर १ मा स्वास्थ्य चौकी भवनसँगै सिमचौर माध्यामीक विद्यालयको तीनकोठे भवन निर्माण, राष्ट्रिय विद्युत् लाइन विस्तार, कर्कटेश्वर माध्यामीक विद्यालयको घेरबार, काटै–मोरा–सेतिलोकमार्ग जोड्ने सडक तथा झ्यामतोला–गुईनाडन सडक निर्माण लगायतका काम भइरहेका छन् ।
त्यसैगरी सेउडेखेत सामुदायिक स्वास्थ्य इकाई स्थापना, सिरपातल–काटै खानेपानी योजना, छिडिखान र उफन्नामा शिवजी मन्दिर तथा काटै सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन् ।
१ सय ३५ घरधुरीमा जस्तापाता वितरण समेत गरिएको अध्यक्ष घर्ती मगरले जानकारी गराए । स्वास्थ्य, शिक्षा, विद्युत्, खानेपानी र सडक जस्ता आधारभूत पूर्वाधार विस्तार हुँदै गएपछि बोगटान फुड्सिलको दुर्गम पहिचान क्रमशः बदलिँदै गएको छ । नयाँ स्वास्थ्य चौकी भवन सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका नागरिकलाई आफ्नै गाउँमा स्वास्थ्य सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ । उक्त भवनको शिलान्यास २०८२ माघमा गरिएकोे थियोे ।


