असोज ०२ धनगढी । कैलालीको धनगढीमा हाइसले ठक्कर दिदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । विहीबारराति धनगढी उपमहानगर पालिका वडा नम्बर–३ फाप्ला नजिकै हाइसले ठक्कर दिदा पैदलयात्रीको धनगढी चटकपुरका कालु रानाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार सुप प्र०१००१ ज १५८० नम्बरको हाइसले पैदल हिँडिरहेका रानालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका रानालाई तत्काल उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको भए पनि चिकित्सकले राति ११ः१० बजे उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटना पछि हाइस सहित फरार भएका चालक कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर–५ का ४५ वर्षीय लोकेन्द्र पाण्डेयलाई प्रहरीले अत्तरियाबाट पक्राउ गरेको छ ।
प्रहरीले दुर्घटनामा संलग्न हाइस समेत धनगढी उपमहानगर पालिका वडा नम्बर–३ बोराडाँडीबाट नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


