चैत्र २६ धनगढी । सुदूरपश्चिम प्रदेशलाई बालविवाहमुक्त प्रदेश बनाउने उद्देश्यले नागरिक समाज र संघ संस्थाहरूले बालविवाह न्यूनीकरण तथा अन्त्यका लागि तयार गरिएको विस्तृत अनुरोध पत्र हस्तान्तरण गरेका छन । सामाजिक विकास समितिका सभापति धर्मराज पाठकलाई बालबालिका तथा युवाको अधिकार स्थापनामा सक्रिय विभिन्न संस्थाका प्रतिनिधिहरूले सुदूरपश्चिम प्रदेश सभाको बालविवाह न्यूनीकरण तथा अन्त्यका लागि तयार गरिएको विस्तृत अनुरोध पत्र हस्तान्तरण गरेका ह्ुन् ।
जिएनबी नेपालका अध्यक्ष प्रकाश खतिवडा, युवालयका कोषाध्यक्ष कृष्ण तामाङ, भिजनरी भ्वाइस नेपालका कार्यकारी सचिव सन्तोष महर्जन, सामाजिक विकासका लागि सचेत समाजका क्रिम चौधरी, जिएनबी ग्लोबलकी सृष्टि कोलक्ष्यपती तथा जिएनबी नेपालकी ईलावती केशी लगायतको उपस्थितिमा विस्तृत अनुरोध पत्र हस्तान्तरण गरिएको हो । नागरिक समाज र प्रदेश तहबीच सहकार्य सुदृढ बनाउँदै बालविवाह अन्त्यका लागि प्रभावकारी कदम चाल्नुपर्ने उनीहरुले बताएका छन ।
अनुरोध पत्र ग्रहण गर्दै सभापति पाठकले सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने लक्ष्य सहित आवश्यक नीति निर्माण र कार्ययोजना अनुसार प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका थिए । सामाजिक विकास मन्त्रालयसँग सहकार्य गर्दै बालविवाह विरुद्ध सशक्त अभियान सञ्चालन गरिने उनले जानकारी गराएका थिए ।
टोलीले सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीसँग समेत छलफल गरेको थियो । छलफलका क्रममा बालविवाह अन्त्यका लागि मन्त्रालयका प्रयास, प्रादेशिक रणनीति तथा कार्ययोजना निर्माणमा सहकार्य गर्ने विषयमा सहमति भएको जानकारी गराईएको छ ।
जिएनबी नेपालका अध्यक्ष खतिवडाले संयुक्त पहललाई बाल अधिकार, लैंगिक न्याय र सामाजिक रूपान्तरण तर्फको महत्वपूर्ण कदमका रूपमा लिँदै अब बालमैत्री तथा न्यायपूर्ण समाज निर्माणतर्फ ठोस कार्यान्वयनको आवश्यकता भएको बताए ।


