चैत्र २५ धनगढी । निजी सञ्चार संस्था माथि सरकारले लगाएको विज्ञापन प्रतिबन्धको विरोधमा नेपाल पत्रकार महासंघले छलफल गरेको छ ।
नेपाल पत्रकार महासंघ कैलालीले धनगढीमा पूर्व अध्यक्षहरू तथा महासंघका वर्तमान पदाधिकारीहरूका विच सरकारले लगाएको विज्ञापन प्रतिबन्धको विरोधमा नेपाल पत्रकार महासंघले छलफल गरेको हो ।
अध्यक्ष श्रवण देउवाले सरकारको पछिल्लो निर्णयले सञ्चार माध्यमको आर्थिक अवस्थामा प्रत्यक्ष असर पर्ने र प्रेस स्वतन्त्रतामाथि समेत नकारात्मक प्रभाव पर्न जाने भएकाले यस विषयमा छलफल गरिएको बताए । छलफलमा सहभागी पूर्व अध्यक्ष तथा पदाधिकारीहरूले विज्ञापन प्रतिबन्धलाई तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै यसले सञ्चार क्षेत्रलाई संकटतर्फ धकेल्ने बताएका छन् ।
उनीहरूले आमसञ्चारको दिगोपन र स्वतन्त्रता जोगाउन राज्यले सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका सहभागीहरूले प्रतिबन्ध विरुद्ध संयुक्त धारणा बनाउने, आवश्यक परे आन्दोलनका कार्यक्रम समेत अघि बढाउने विषयमा पनि छलफल गरेको उनले बताए । नेपाल पत्रकार महासंघले सरकारको उक्त निर्णय प्रति असन्तुष्टि जनाउँदै सञ्चारमाध्याम मैत्री नीतिको माग गरेको छ ।


