चैत्र २५ धनगढी । कैलालीका किसान यस वर्ष कम मूल्यमा गहुँ बेच्न बाध्य भएका छन । गत वर्ष प्रतिक्विन्टल ४ हजार रुपैयाँमा गहुँ बेचेका किसान यस वर्ष करिब २ सय रुपैयाँ कम मूल्यमा गहुँ बिक्री गर्न बाध्य भएका हुन । हाल गहुँ प्रतिक्विन्टल ३ हजार ८ सय रुपैयाँको हाराहारीमा बिक्री भइरहेको छ । केही दिनअघि परेको वर्षा र हुरीबतासले उत्पादनमा समेत क्षति पुगेको छ ।
किसान रुपलाल चौधरीले धेरै मेहनत गरेर खेती गरे पनि उत्पादनको उचित मूल्य नपाउँदा मर्का परेको बताए । ‘गत वर्षभन्दा कम मूल्यमा गहुँ बिक्री गर्नुपरेको बताउदै उनले थोरै भए पनि बढी मूल्य पाउनु पर्ने बताए । समयमै मल र बिउ नपाउने अबश्थामा दुःख गरेर खेती गर्दा पनि उचित मूल्य नपाउने समस्या भएकोे उनले बताए । टीकापुरका मञ्जित रावलले सरकारले गहुँको समर्थन मूल्य समयमै नतोकेका कारण किसानले उचित मूल्य पाउन नसकेको बताए ।
किसानले समयमै मल, बिउ नपाउने र बिक्रीका बेला पनि उचित मूल्य नपाउने समस्या झेलिरहेको उनले बताए । केही दिनअघि हुरीबतास सहितको वर्षाले गहुँ उत्पादनमा कमी आएको बताउदै उनले अहिले संकलन केन्द्रमा पनि उचित मूल्य नपाउदा किसानलाई जताबाट पनि घाटा हुने गरेको बताए । त्यसैगरी टीकापुरका पहलमान साउदले प्रतिक्विन्टल ४ हजार २ सय रुपैयाँका दरले ४ क्विन्टल गहुँ खरिद गरेको बताए । गत वर्ष पनि यही मूल्यमा गहुँ खरिद गरेका उनले यस वर्षको मूल्य ठीकै लागेको बताए ।
गत वर्ष पनि यही मूल्यमा किनेको बताउदै उनले यस वर्ष मूल्य बढ्ला भनेर समयमै किन्न आएको भए पनि पोहोरकै मूल्यमा पाएको बताए । टीकापुरस्थित भीम खाद्यान्न खरिदबिक्री केन्द्रका भीमबहादुर ठकुल्लाले राम्रो (केलाउन नपर्ने) गहुँ प्रतिक्विन्टल ३ हजार ८ सय रुपैयाँ सम्ममा खरिद गर्ने गरेको बताए । ‘राम्ररी सफा नगरेको गहुँ ३ हजार ६ सय रुपैयाँमा खरिद गर्ने गरेको बताउदै उनले गुणस्तर हेरेर ३ हजार ९ सय रुपैयाँसम्म पनि दिने गरेको बताए ।
खाद्यान्न व्यावसायीका अनुसार कैलालीमा खरिद गरिएको गहुँ नेपालगञ्ज र धनगढीका मैदा मिलमा प्रतिक्विन्टल करिब ४ हजारमा बिक्री हुने गरेको छ । ठकुल्लाले हालसम्म ४ सय क्विन्टल गहुँ प्रतिक्विन्टल ४ हजारका दरले बिक्रीका लागि नेपालगञ्ज पठाइसकेका छन् । पौडेल राइस मिलका सञ्चालक रामहरि पौडेलले किसानले अहिले गहुँ बिक्रीका लागि ल्याउन थालेको बताए ।
‘यस वर्ष पानी र हुरीबतासले नपाक्दै गहुँ ढालेकाले सानो दाना र माटो मिसिएको गहुँ बिक्रीका लागि आएको बताए । गत वर्ष प्रतिक्विन्टल ४ हजार २ सय रुपैयाँ सम्ममा खरिद गरेको बताउदै उनले यस वर्ष ३ हजार ८ सय ५० रुपैयाँ देखि ३ हजार ९ सय रुपैयाँ सम्ममा खरिद गरिरहेको बताए । यस वर्ष सरकारले गहुँको समर्थन मूल्य तोकेको छैन । समर्थन मूल्य नतोकिँदा खाद्यान्न खरिदबिक्री केन्द्रहरूले मिलसँगको समन्वयमा खरिदबिक्री दर निर्धारण गरिरहेका छन् ।
गत वर्ष सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६७ रुपैयाँ ३८ पैसा निर्धारण गरेको थियो । विगतमा हरेक वर्ष वृद्धि गर्दै आएको समर्थन मूल्य यस वर्ष नतोकिँदा किसानले उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् । कृषि मन्त्रालयले समर्थन मूल्य निर्धारणका लागि अध्ययन गरी प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइसकेको जनाएको छ ।
टीकापुर नगरपालिका कृषि विकास शाखाका कृषि प्राविधिक मोतिसिंह विकका अनुसार गहुँको समर्थन मूल्य समयमै तोकिएमा किसानलाई राहत मिल्नेछ । ‘समयमै समर्थन मूल्य तोकिएमा किसानले घाटामा बिक्री गर्नु पर्दैन र बिचौलियाबाट ठगिने सम्भावना पनि कम हुन्छ । यस वर्ष भने मिल सञ्चालक र खरिदकर्ताले आफैँ मूल्य निर्धारण गरेका कारण किसानले उचित मूल्य पाउन सकेका छैनन् ।’


