चैत्र २५ कञ्चनपुर । नयाँ शैक्षिकसत्र सुरु हुनु अगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र संस्थागत विद्यालयमा देखिएका व्यावस्थापकीय कमजोरी र शैक्षिक बेथिति सुधार गर्न अभियान सुरु गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक समयमै उपलब्ध गराउने, चालु शैक्षिक सत्रभित्र छात्रवृत्ति वितरण गर्ने र विद्यालय उमेर समूहका सबै बालबालिकालाई भर्ना गराउने ‘घरदैलो अभियान’ सुरु गरेको हो ।
शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टले विनियोजित छात्रवृत्ति रकम निकासा भइसकेको बताउदै सोही सत्रभित्र वितरण गरी भर्पाइ बुझाउनु पर्ने व्यावस्था सुनिश्चित गरिएको बताए । विद्यालयले विद्यार्थीलाई ग्रेडसिट र स्थानान्तरण प्रमाणपत्र नदिने, इमिस प्रणालीमा ट्रान्सफर नगर्ने जस्ता गतिविधि नगर्न सचेत गराइएको उनले बताए । शाखा प्रमुख भट्टले संस्थागत विद्यालयतर्फ शुल्क विवरण, भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन र विद्यालय सवारीसाधन व्यावस्थापनमा विशेष ध्यान केन्द्रित गरेको बताए ।
पूर्वप्राथमिक देखि कक्षा १२ सम्मको शुल्क विवरण पेश नगर्ने विद्यालयलाई अन्तिम समयसीमा तोकिएको उनले बताए । निर्धारित समय भित्र पेश नगरे नियम अनुसार कारबाही हुन उनले बताए । शैक्षिकसत्र सुरु हुनु अगावै नयाँ विद्यार्थी भर्ना र प्रचार प्रसार रोक्न, विद्यार्थीबाट मनपरी शुल्क नलिन र विद्यालय व्यवस्थापन पारदर्शी बनाउन संस्थागत विद्यालयलाई निर्देशन दिइएको उनले बताए ।
धेरै विद्यालयमा खानेपानी, कक्षाकोठा, फर्निचर, शौचालय, खेलमैदान र घेराबारको अवस्था अनुगमनका क्रममा कमजोर देखिएको बताउदै भट्टले शैक्षिकसत्र सुरु हुनु अगावै यी पूर्वाधार सुधार्न संस्थागत विद्यालयलाई सुझाव दिएको बताए । निम्न माध्यमिक र माध्यमिक तहका विषयगत शिक्षक व्यवस्थापन र कर्मचारी सेवा सुविधा कानुन अनुसार सुनिश्चित गर्न निर्देशन दिइएको उनले जानकारी गराए ।
विद्यार्थी बोक्ने सवारीसाधन पुराना र सिट क्षमता भन्दा बढी विद्यार्थी बोकेको गुनासो आए पछि सवारी मर्मत, नयाँ साधन व्यावस्थापन र सीट क्षमता अनुसार मात्र विद्यार्थी बोक्नेका लागि निर्देशन पत्र पठाएको उनले बताए । शिक्षा शाखाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले अनुमति नलिई माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालय प्रति कडा कानुनी कारबाही हुने उनले बताए ।
नगरपालिकाले विद्यार्थी व्यवस्थापन र समन्वयमा विद्यालयहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ । नगरपालिकाले यस अभियान मार्फत विद्यालय व्यावस्थापनलाई जिम्मेवार, पारदर्शी र व्यवस्थित बनाउन अनुगमनलाई कडाइका साथ अघि बढाउने जनाएको छ । शैक्षिक सुधारको यो प्रयास नगरपालिकाका नीति, नियम र समुदायको सहभागिता सँगसँगै अघि बढाउने महत्त्वपूर्ण कदम मानिएको छ । नगरपालिकामा २८ वटा सामुदायिक र २५ वटा संस्थागत गरी ५३ वटा विद्यालय सञ्चालनमा रहेको उनले जानकारी गराए ।


