चेत्र २० बैतडी । बैतडीको पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा सञ्चालन गरिएको प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिएका छन् । नगरपालिकाको वडा नम्बरं ३ स्थित गुजर स्वास्थ्यचौकी, वडा नम्बरं ९ स्थित आधारभूत स्वास्थ्य केन्द्र टकरे, वडा नम्बरं २ स्थित सिलङ्गा स्वास्थ्यचौकी र वडा नम्बरं ४ स्थित भुमेश्वर स्वास्थ्यचौकीमा सञ्चालन भएका शिविरमा २ सय ४२ जनाले सेवा लिएका हुन ।
नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक दमयन्ती ऐरले शिविरमा २ सय ४२ जनाले सेवालिएको जानकारी गराउदै सेवा लिन आएका मध्ये १ सय ५५ जना महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएको बताईन । ती मध्ये तीन जनामा पोजेटिभ देखिए पछि उनीहरुलाई थप उपचारका लागि सिफारिश गरिएको ऐरले जानकारी गराईन ।
त्यसैगरी १२ जना महिलाको पाठेघर खसेको समस्याको पहिचान र व्यवस्थापन गरिएको बताउदै उनले ३५ जना गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड गरिएको बताईन । अल्ट्रासाउण्ड गर्दा जटीलता देखिएका गर्भवती आमाहरुलाई सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको जनस्वास्थ्य निरीक्षक ऐरले बताइन् ।
त्यसैगरी शिविरमा ८ जना महिलाले लामो अवधिको परिवार योजनाको अस्थायी साधन इम्पलान्ट राखेको उनले जानकारी गराईन । ग्रामीण क्षेत्रमा रहेका महिलाहरुलाई नजिकैको स्वास्थ्य संस्थाबाट प्रजनन स्वास्थ्य सेवा दिने उद्देश्यले चिकित्सक सहित शिविर सञ्चालन गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी गराए ।


