चैत्र २० दार्चुला । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङको टिमले दार्चुलाको विकट बस्ती व्यास गाउँपालिका वडा नम्बर–२, दुम्लिङको काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । गत ११ गते गरिएको स्थलगत अनुमगन निरीक्षण (नापजाँच) पछि काठा दुम्लिङको मल्लो दुम्लिङखोलामा झोलुङ्गे पुल निर्माण गरिने भएको हो ।
इन्जिनियर डम्मर लिम्बूले काठा दुम्लिङको मल्लो दुम्लिङखोलामा झोलुङ्गे पुल निर्माण गरिने जानकारी गराए । स्थानीयले विगत देखि प्रयोग गर्दै आइरहेको तुइन हटाएर महाकाली नदीमाथि नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण गर्न प्राविधिक अध्ययन टोली आए पनि अन्तर्राष्ट्रिय सीमानाकामा संरचना निर्माण गर्न दुई देशको सहमति चाहिने भएपछि टोलीले स्थानीय काठा दुम्लिङमा पुल निर्माण गर्ने भएको हो ।
स्थानीयको मागका आधारमा तत्काल काठा दुम्लिङमा झोलुङ्गे पुल निर्माण गर्न लागत इस्टिमेट सहितको विस्तृत अध्ययन प्रतिवेदन बनाइएको उनले जानकारी गराए । बर्षातको समयमा खोला तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने गरेका कारण उक्त खोलामा पुल निर्माण गरिदिन प्राविधिक टोलीलाई आग्रह गरेको व्यास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडूले जानकारी गराए । काठा दुम्लिङमा पुल निर्माण गर्न प्रतिनिधि सभा सदस्य हर्कराज साम्पाङ नेतृत्वको टिम दार्चुला आएर चैत २४ गते पुलको शिलान्यास गर्ने योजना रहेको इन्जिनियर लिम्बूले जानकारी गराए ।
पुल निर्माणका लागि आर्थिक सङ्कलन अभियान सञ्चालन गरेका प्रतिनिधि सभा सदस्य साम्पाङलाई देश तथा विदेशमा रहेका नेपालीले हालसम्म एक करोड १२ लाख रुपैयाँ सहयोग गरेको टोलीमा रहेका महेन्द्र पुनले जानकारी गराए । १५ जना श्रमदाता सहित प्रतिनिधि सभा सदस्य साम्पाङको टोली दार्चुला आउने उनले बताए ।
आउँदो असार सम्ममा पुल निर्माण गरिसक्ने लक्ष्य रहेको बताउदै उनले पुलको लम्बाइ ८० मिटर रहेको जानकारी गराए । राज्यको आँखा नपुगेको दुम्लिङमा प्रतिनिधि सभा सदस्य साम्पाङको अगुवाइमा पुल निर्माण हुने भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । स्थानीय प्रभात बुढाथोकीले विद्यार्थी हिँड्ने, यार्चागुम्बा टिप्न जाने मूलबाटो तथा काठा दुम्लिङ, गोठान र कल्जु गाउँ जोड्ने गरी झोलुङ्गे पुल निर्माण हुन लागेको बताए । पुल निर्माणमा आफूहरू श्रमदान गर्न तयार रहेको उनले बताए ।
स्थानीय जानकी बुढाथोकीले गाउँमा विकास निर्माणका काम हुनु सकारात्मक भएको बताईन । स्थानीयलाई नेपाल–भारत सीमामा झोलुङ्गे पुल बढी आवश्यक भएको पनि उनले बताईन । नेपालबाट उक्त गाउँसम्म सडक पु¥याउन सरकारले दार्चुला–तिङ्कर सडक निर्माण गरिरहेको छ ।
वडा नम्बर २ को राङथल सम्म सडकको ट्र्याक खुलेको भए पनि दुम्लिङगाउँ सम्म पुग्न अझै एक किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको छ । दुम्लिङगाउँमा भारतसँग जोड्ने पुल नहुँदा तुइनबाट खसेर हालसम्म ३६ जनाले ज्यान गुमाउनु परेको स्थानीय महेन्द्रसिंह बुढाथोकीले जानकारी गराएका छन ।

