चैत्र १९ धनगढी । सरकारले सरकारी विज्ञापन सरकारी मीडियामा मात्रै प्रकाशन गर्न परिपत्र जारी गरेको छ । प्रकाशन खर्चमा मितव्ययिता कायम तथा सूचना प्रकाशन प्रक्रियालाई पारदर्शी बनाउन सरकारी सञ्चार माध्यममा मात्रै विज्ञापन प्रकाशन गर्न सरकारले परिपत्र जारी गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले जारी गरेको पत्र अनुसार सार्वजनिक निकायहरूले आफ्ना सूचना तथा विज्ञापनहरू सरकारी सञ्चार माध्यम मार्फत मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने भएको छ । शाखा अधिकृत विनोद रेग्मीले सचिवस्तरबाट बुधबार भएको निर्णय अनुसार संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूले सरकारी मीडियामा मात्रै विज्ञापन प्रकाशन गर्नु पर्ने भएको हो ।
परिपत्र अनुसार सरकारी विज्ञापन र सूचनाहरू गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी स्वामित्वका सञ्चार माध्यममा प्रकाशन गर्नुपर्ने भएको छ । त्यस्तो प्रकाशन तथा प्रसारणको भुक्तानी गर्दा सम्बन्धित सञ्चार संस्थाको आधिकारिक खातामा मात्र रकम जम्मा गर्नु पर्ने व्यवस्था गरिएको छ ।
भुक्तानी दर र छुट सम्बन्धी विषय पनि सम्बन्धित सञ्चार माध्यमबाट स्वीकृत हुनुपर्ने उल्लेख गरिएको छ । सरकारको यस्तो निर्णय पछि अब सरकारले कुनै पनि विज्ञापन निजी क्षेत्रका सञ्चार माध्यममा प्रकाशन र प्रसारण गर्न नपाउने भएका छन । धेरैजसो सञ्चार माध्यमहरू सरकारी विज्ञापनको आधारमा टिकेको अबश्थामा गरिएको यस्तो निर्णयले निजी सञ्चार माध्यमले संकट बेहोर्नु पर्ने भएको छ ।
सरकारी सञ्चार माध्यममा मात्र एकद्वार नीति लागु गर्दा धेरै सञ्चार माध्यम बन्द हुने अवस्था आउने भएकाले सञ्चार क्षेत्रका सरोकारवालाहरूले आपत्ति जनाएका छन । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारको यो कदम प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने कोशिस भएको बताएकी छिन ।
निजी सञ्चार माध्यममाथि सरकारी विज्ञापन रोकेर प्रहार गरेको बताउदै उनले सामान्य छलफल समेत नगरिएको बताईन । यस्तो निर्णय लोकतन्त्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने षड्यन्त्र भएको अध्यक्ष शर्माले बताईन । निर्णय तत्काल नसच्याए आन्दोलन गर्ने उनले चेतावनी समेत दिएकी छिन ।
लोकतन्त्र ल्याउनका लागी निजी सञ्चार माध्यमहरूको ठूलो भूमिका रहेको बताउदै उनले सरकारी निर्णय सच्याउनु जरुरी भएको बताईन । निर्णयको घोर भत्र्सना गर्दै उनले महासंघले देशव्यापी आन्दोलन गर्ने चेतानी समेत दिएकी छिन ।


