चेत्र १९ धनगढी । कैलालीको टीकापुरका एचआईभी सङ्क्रमितहरुले पोषण सहयोग नियमित गर्न टिकापुर नगरपालिकासँग माग गरेका छन् । टीकापुर नगरपालिकाले विगत ६ वर्ष देखि एचआईभी सङ्क्रमितलाइ प्रदान गर्दै आएको पोषण सहयोग नियमित गर्न टिकापुर नगरपालिकासँग उनीहरुले माग गरेका हुन । सङ्क्रमित व्यक्तिको बैंक खाता मार्फत पोषणका लागि प्रति व्यक्ति ६ हजार रुपैया उपलब्ध गराउँदै आएको सहयोग नियमीत गर्न सङ्क्रमितहरुले माग गरेका हुन ।
सङ्क्रमितको अधिकारका क्षेत्रमा क्रियाशिल नवजीवन एकता समाजका अध्यक्ष जगत भण्डारीले टीकापुरमा गत वर्ष १ सय १५ जनाले पोषण सहयोग लिएको जानकारी गराए । पोषण सहयोगका लागि गतवर्ष सात लाख ५० हजार रुपैया बजेट विनीयोजन गरिएको बताउदै उनले यस वर्ष तीन लाख मात्रै बजेट विनियोजन भएकाले नपुग्ने बताए ।
पुरानै व्यवस्था अनुसार सहयोग उपलब्ध गराउन उनले माग गरेका छन । ‘‘एचआईभी सङ्क्रमित शारीरिक रुपमा कमजोर हुने बताउदै अध्यक्ष भण्डारील अन्यव्यक्ति सरह काम गर्न नसक्ने भएकाले पालिकाले दिने थोरै रकमले पनि उनीहरुलाई एक–दुई महिना छाक टार्न सहयोग पुग्ने बताए । नियमित रुपमा दिइरहेको यस्तो सहयोग घटाउन नहुने पनि उनले बताए ।
विसं २०६४ सालमा स्थापना भएको नवजीवन एकता समाजले कैलालीमा एचआईभी सङ्क्रमितको अधिकार, रोग निदान, स्वास्थ्य उपचार र परामर्श जस्ता कार्यमा सघाउँदै आएको उनले जानकारी गराए । टीकापुरमा मात्रै १ सय ६५ जना एचआईभी सङ्क्रमित रहेको उनले बताए । समाजले कैलाली जिल्लाभरिका १८ वर्ष मुनिका ७० जना बालबालिकालाई पोषण र शिक्षाका लागि मासिक एक हजार ५ सय उपलब्ध गराउने गरेको जानकारी गराए ।
उनीहरुको शिक्षा आर्जनका लागि कापी किताब किन्न समस्या नहोस् भनेर थोरै सहयोग गर्ने गरेको अध्यक्ष भण्डारीले बताए । एकल महिलाका समस्या थुप्रै भएको बताउदै उनले कमाउने श्रीमान बितेपछि, आफू पनि सङ्क्रमित हुँदा आर्थिक समस्या झेल्नु परेको बताए । सङ्क्रमितको उपचारका लागि कैलालीमा चारवटा स्वास्थ्य संस्थामा एआरटी सेन्टर स्थापना गरिएका छन । सेती अस्पताल धनगढी, टीकापुर, अस्पताल, मालाखेती अस्पताल र लम्कीचुहा अस्पतालमा एआरटी सेवा सञ्चालनमा रहेका छन ।
टीकापुर अस्पतालबाट करिब ६ सय जनाले एआरटी सेवा लिने गरेका छन । समाजमा सम्मानजनक व्यवहार नभएकाले एउटा पालिकाको मान्छे अर्को पालिका अर्थात टाढाको स्वास्थ्य संस्थामा गएर एआरटी तथा उपचार सेवा लिने गरेका छन । विगतमा टीकापुर अस्पतालमा उपचार सेवा लिन आउने टाढाका सङ्क्रमित बिरामीलाई नवजीवन एकता समाजमा गाँस, बाँसको व्यवस्था समेत गरिएको उनले बताए ।
बर्दगोरियाबाट टीकापुर अस्पतालमा सेवा लिन आएकी एक जना महिलाले अस्पतालमा रगत परीक्षण लगायतका सेवा लिँदा कहिलेकाहीँ एक–दुई दिन बस्नुपर्ने भएकाले संस्थामा खान र बस्न पाइने भएकाले त्यही बस्ने गरेको बताईन । अहिले आर्थिक समस्याले राख्न सकिँदैन भन्ने गरेकाले होटलमा बसेर उपचार गर्नु पर्ने अबश्था आएको बताईन । नजिकका अस्पतालमा उपचार गर्न जाँदा सबैले चिन्ने र समाजमा सङ्क्रमित भने पछि दुव्र्यवहार गर्ने गरेको उनले बताईन ।
टीकापुर अस्पतालमा मोहन्याल गाउँपालिका, घोडाघोडी नगरपालिका, बर्दयोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिका,भजनी नगरपालिका,जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका सहित बर्दिया गाउँपालिकाको गेरुवा गाउँपालिकाका बिरामी उपचार सेवा लिन आउने गरेको बताईएको छ । टिकापुर गरपालिकाका कार्यवहाक नगर प्रमुख रामबहादुर नगार्जीले टीकापुर नगरपालीकाले कार्यविधि बनाएर विगत केही वर्षदेखि सघाउँदै आएको बताए ।
चालु आर्थिक वर्षमा पालिकामा आर्थिक स्रोत कम भएकाले बजेट घटेको बताउदै उनले आगामी वर्ष बजेट व्यवस्था गर्ने बताए । संक्रमीतको उपचार पहिलो प्राथमिकता भएको बताउदै उनले त्यस बाहेकका समस्या पनि धेरै भएकाले पालिकाको जिम्मेवारी धेरै र बजेट कमहुँदा कतिपय काम इच्छा भएर पनि गर्न नसकिएको बताए ।


