चैत्र १८ कञ्चनपुर । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजनाको पानी नियमीत नहुँदा सिचाईमा समस्या भएको छ । तेस्रो चरण अन्तर्गत मूल नहर निर्माणको कार्य तीव्र गतिमा भइरहेकोे भए पनि नहरमा पानी नियमित नहुँदा सचाईमा समस्या भएको हो ।
महाकाली सन्धि अनुसार भारतीय पक्षले टनकपुरबाट नेपाल–भारत सिमाना सम्म बनाउनु पर्ने एक हजार २ सय मिटर मूल नहर निर्माण गरिसकेको छ भने नेपालले आफ्नो क्षेत्र ब्रह्मदेवबाट शुक्लाफाँटाको टोटी फुलेली सम्म २८ किलोमिटर मूल नहर निर्माण गरिसकेको भए पनि पानी नियमीत नहुदा सिचाईमा समस्या हुने गरेको हो ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सूचना अधिकारी इन्जिनियर यादव बरालले“मूल नहर २८ किलोमिटर निर्माण भएर उक्त क्षेत्रमा शाखा नहर पनि निर्माणाधीन अवस्थामा रहेको बताउदै महाकाली नदीबाट भारतले परीक्षणका लागि मूल नहरमा पानी छोडे पनि नियमित नछोडेकाले समस्या भएको बताए ।
हालको अवस्थामा भारतीय पक्षसँग सहमति गरी पानी नियमित प्रवाह गराउन सके पाँच हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्ने उनले जानकारी गराए । सिँचाइ आयोजनाले तीनपटक जलस्रोत तथा सिँचाइ विभागमा पानी ल्याउने विषयमा भारतसँग समन्वय गर्न पत्राचार गरिसकेको सूचना अधिकारी बरालले जानकारी गराए ।
मूल नहरमा पानी महाकालीबाट ल्याउन सकारात्मक पहल गरिदिन माथिल्लो निकायमा जानकारी गराउदै आएको बताउदै बरालले नेपाल–भारत सिँचाइ मन्त्रीस्तरसम्म यो विषय अझै नपुगेको बताए । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतीय पक्षसँग उक्त विषयमा अनौपचारिक छलफल गरेको भन्ने सूचना पाएको अधिकारी बरालले जानकारी गराए ।
“भारतमा सिँचाइ मन्त्रीस्तरमा यो विषय पुर्याएर नहरमा नियमित पानी बगाइसक्नु पर्ने बताउदै उनले ठोस पहल नहुँदा अर्बौं लगानीमा बनेको मूल नहर काठ, घाँस लगायत वनजङ्गलले पुरिँदै गएको बताए । कैलालीको मालाखेती सम्म ३३ हजार ५ सय २० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्य सहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति भइरहे पनि पानी ल्याउन प्रभावकारी पहल हुन नसकेको उनले बताए ।
अहिले मूल नहर अन्तर्गत २८ देखि ४८ किलोमिटर सम्म चार चरणमा निर्माण भइरहेको बताउदै उनले “चारवटा चरणमा हालसम्म करिब ६० प्रतिशत भौतिक प्रगति भइसकेको बताए । मूल नहर निर्माण अन्तर्गत जग्गा अधिग्रहण, ऐलानी र सुकुम्बासी जग्गाको विवादका साथै केही स्थानमा रुख कटानको समस्या रहेको बरालले बताए ।
यस वर्ष मुआब्जा सहित आयोजनाको बजेट दुई अर्ब रहेको बताउदै उनले मुआब्जा वितरण हुन नसक्दा केही रकम खर्च हुन नसक्ने अवस्था भएकाले काम पनि प्रभावित बन्दै गएको बताए । विसं २०८७ सम्ममा कैलालीको मालाखेती सम्म नहर निर्माण सक्ने सरकारको लक्ष्य रहेको बताउदै उनले आयोजनामा नौ अर्ब लगानी भइसकेको बताए ।
टनकपुरमा हेड रेगुलेटरसँगै भारतीय पक्षमा ढिला गरी एक हजार २ सय मिटर मूल नहर बनेपछि नेपालतर्फ केही समय परीक्षण र असार १५ गते धान दिवसमा पानी छाडिएको उनले बताए । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले सिँचाइ तेस्रो चरण अन्तर्गत मूल नहरमा पानी ल्याएर किसानलाई सिँचाइ सुविधा पु¥याउन सरकारी संयन्त्रबाट सकारात्मक पहल हुनुपर्ने बताए ।
अर्बौंको लगानीमा नहर खन्ने तर महाकालीबाट पानी ल्याउन छिमेकी राष्ट्रसँग कूटनीतिक पहल नगर्ने काम भएको उनले बताए । हालै बनेको नयाँ सरकारले विषयलाई टुङ्गोमा पु¥याउने र समस्या समाधान हुनेमा आशावादी भएको उनले बताए ।
कञ्चनपुरमा खासगरी राजमार्ग भन्दा उत्तरतर्फ सिँचाइको समस्या बढी रहेको बताउदै अध्यक्ष मल्लले नहर पूर्ण भएसँगै उक्त समस्या समाधान हुने बताए । सिँचाइ सुविधा पुगेर उत्पादनमा वृद्धि भए अर्थतन्त्रमा पनि बल पुग्ने बताउदै उनले महाकाली सिँचाइ आयोजना मार्फत किसानलाई सिँचाइ सुविधा प्रदान गर्नेगरी सहज र प्रभावकारी वातावरण बनाउने पर्ने बताए ।


