चैत्र १८ धनगढी । समानता प्रतिवेदन २०२६ सम्बन्धी परामर्श तथा कार्यशाला कार्यक्रम सम्पन्न भएको छ । गैर सरकारी संस्था महासंघ नेपालको आयोजनामा चैत्र १६ र १७ गते दुई दिन धनगढीमा आयोजना गरिएको समानता प्रतिवेदन २०२६ सम्बन्धी परामर्श तथा कार्यशाला कार्यक्रम सम्पन्न भएको हो । गैरसरकारी संस्था महासंघ प्रदेश समिति अध्यक्ष देवी प्रसाद खनालले,कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा विद्यमान सामाजिक, आर्थिक तथा क्षेत्रगत असमानताका विविध पक्षहरूबारे गहन छलफल गरिएको बताए ।
सहभागीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, लैङ्गिक समानता, बाल अधिकार तथा सीमान्तकृत समुदायको पहुँचका विषयमा आफ्नो अनुभव र धारणा राखेको उनले बतए । स्थानीय तहदेखि प्रदेश तहसम्म नीतिगत सुधारका लागि आवश्यक सुझावहरू संकलन गरिएको उनले बताए । कार्यशालामा विशेषगरी असमानता न्यूनीकरणका लागि समावेशी नीति निर्माण, स्रोतको न्यायोचित वितरण, सेवामा पहुँच विस्तार तथा सरोकारवालाबीच समन्वय सुदृढ गर्ने विषयमा छलफल गरिएको उनले
बताए ।
सहभागीहरूले प्रतिवेदनलाई यथार्थपरक र प्रभावकारी बनाउन स्थानीय तहका अनुभव र तथ्यहरू समेटिनुपर्ने धारणा व्यक्त गरेको बताउदै उनले समूहगत छलफल कार्यक्रम मार्फत विभिन्न विषयगत समूहहरू गठन गरी असमानताका कारण, प्रभाव र समाधानका उपायहरू पहिचान गरिएको बताए । प्रमुख सूचना सङ्कलन अन्तर्वार्ता मार्फत नीति निर्माण तहका व्यक्तिहरूबाट रणनीतिक सुझावहरू संकलन गरिएको उनले बताए ।
कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नानी माया थापा, केन्द्रीय सचिव सावित्रा घिमिरे, केन्द्रीय सदस्य तथा सुदूरपश्चिम सह–इन्चार्ज कैशिला चौधरी, कन्सल्टेन्ट मोनिका, धनगढी उपमहानगरपालिकाका बालकल्याण अधिकारी टंक बिष्ट, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका सामाजिक महाशाखा प्रमुख प्रतिभा श्रेष्ठ लगायत विभिन्न क्षेत्रका अभियानकर्मी, अगुवा, गैरसरकारी संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको उनले बताए ।
कार्यशालामा ३१ जना, समूहगत छलफलमा १९ जना र प्रमुख सूचना सङ्कलन अन्तर्वार्तामा १५ जनाको सहभागिता रहेको उनले बताए ।


