चैत्र १७ अछाम । अछामको पर्यटकिय क्षेत्र रामारोशन जाने सडक ठेकेदाका कारण ५ बर्ष देखि अलपत्र परेको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र अछामको रामारोशन जाने ३८ किलोमिटर ८ सय ४० मिटर सडक कालोपत्रेका लागि ठेक्का भए पनि ६ वर्ष देखि अलपत्र परेको हो । जयगढ सम्म सहज रूपमा यात्रा गर्न सकिने भए पनि जयगढ देखि रामारोशन क्षेत्र सम्म पुग्ने सडक कालोपत्र हुन नसक्दा सकस हुने गरेको छ ।
सडक कालोपत्रेका लागि पूर्वाधार विकास कार्यालय अछामले तीन खण्डमा विभाजन गरेर ठेक्का लगाएको भए पनि हाल सम्म एक जना ठेकेदारले पनि कालोपत्रेको काम सुरु गरेको छैन । सडकको पहिलो खण्ड जयगढ–माझेठाना–गौता खोला सम्म १२ किलोमिटर ४ सय ३८ मिटर सडकको कालोपत्रेका लागि बज्र गुरु कन्स्ट्रक्सन कम्पनी काठमाण्डौंसँग २०७६ कार्तिक ९ गते सडक निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो ।
२४ करोड ७७ लाख ९० हजार ३ सय ६९ रुपैयाँ लागतमा निर्माण गर्ने गरी गरिएको सम्झौता अनुसार उक्त सडक २०७९ असार १७ गते सम्पन्न गर्नुपर्ने भए पनि त्यसपछि २ पटक म्याद थप गर्दा पनि सडक निर्माणको काम नसकिए पछि हाल तेस्रो पटक म्याद थपिएको पूर्वाधार विकास कार्यालय अछामले जानकारी गराएको हो । सडक निर्माणका लागि पहिलो पटक थप १ वर्ष दोस्रो पटक डेढ वर्ष र तेस्रो पटक पनि डेढ वर्ष म्याद थप गरी निर्माण अवधि २०८३ असार २५ गते सम्म कायम गरिएको छ ।
उक्त सडकको वित्तीय प्रगति ७७ प्रतिशत र सोही हाराहारीमा भौतिक प्रगति रहेको छ । सडकको लागत भने बढेर हाल ३० करोड ७३ लाख ७२ हजार १ सय ४५ रुपैयाँ पुगेको पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ । सडकको दोस्रो खण्ड गौता खेला देखि मुजा बगर बजार सम्म ५ किलोमिटर २ सय ५० मिटर सडक कालोपत्रेका लागि २०७६ कार्तिक ५ गते अनक जयदेवी जेभी नेपालगन्ज सँग ठेक्का सम्झौता गरिएको थियो ।
२०७८ असार १७ गते सम्पन्न गर्नु पर्ने गरी सुरुमा १३ करोड ७९ लाख २६ हजार ७ सय ३३ रुपैयाँमा ठेक्का सम्झौता गरिएको भए पनि समयमा काम सम्पन्न नहुँदा हाल तेस्रो पटक म्याद थप गरेर काम भइरहेको छ । उक्त सडक निर्माणका लागि पहिलो पटक ९ महिना, दोस्रो पटक १ वर्ष र तेस्रो पटक ३ वर्ष ३ महिना म्याद थपिएको बताइएको छ ।
म्याद थप पछि सडक निर्माणको काम २०८३ असार २० गते सकिनुपर्ने भए पनि हालसम्म आधा काम पनि भएको छैन । पूर्वाधार विकास कार्यालय अछामले सडक निर्माणका लागि ४१.३३ प्रतिशत अर्थात् ६ करोड ९७ लाख ६५ हजार ५ सय ५० रुपैयाँ भुक्तानी भएको जानकारी गराएको छ । दोस्रो भेरियसन पछि सडकको लागत पनि बढेर हाल १६ करोड ८७ लाख ८५ हजार ६ सय ४१ रुपैयाँ पुगेको कार्यालयले जनाएको छ ।
तेस्रो खण्ड मुजाबगर देखि रामारोशन सम्म २१ किलोमिटर १ सय ५२ मिटर सडक कालोपत्रेका लागि पीएस बानिया जेभी हेटौडासँग २०७७ असार २९ गते सम्झौता गरिएको थियो । सम्झौता अनुसार २०८० असार १६ गते सडक निर्माणको काम सक्नुपर्ने भए पनि उक्त सडक खण्डको पनि २ पटक म्याद थप गरिसकिएको छ । सुरुमा १९ महिना र दोस्रो पटक २७ महिना म्याद थप गरी सडक निर्माणको समय २०८४ असार ३० गते सम्म तोकिएको छ ।
उक्त सडक निर्माणका लागि सुरुमा ४८ करोड ३९ लाख ६७ हजार ३ सय ८२ रुपैयाँमा ठेक्का सम्झौता भएकोमा हाल भेरियशन पछि लागत बढेर ५७ करोड ४२ लाख ८३ हजार २ सय ३९ रुपैयाँ पुगेको पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ । कार्यालयका अनुसार हाल सडकको वित्तीय प्रगति ४९.३९ प्रतिशत रहेको छ ।
जस अनुसार २८ करोड ३६ लाख ५३ हजार ५ सय ४९ रुपैयाँ भुक्तानी गरिएको छ । हाल सडकको पहिलो खण्डमा कालोपत्रेका लागि गिट्टी बिछाउने काम गरिएको भए पनि अन्य दुई खण्डमा भने सडकको अवस्था उस्तै रहेको छ । सडक सुख्खा मौसममा धुलाम्मे र बर्षातमा हिलाम्मे हुनुका साथै सडकमा ठुला ठुला खाल्डा र ढुङ्गा हुँदा यात्रा गर्न निकै कठिन र जोखिमपूर्ण रहेको छ ।
जसले गर्दा जयगढ बजार देखि रामारोशन गाउँपालिका ७ मा पर्ने रामारोशन क्षेत्रमा पुग्न ३८ किलोमिटर ८ सय ४० मिटर सडकको यात्रा निकै कष्टकर हुने गरेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण रामारोशन क्षेत्र खुला घाँसे मैदान र तालले चर्चित छ ।
जसका कारण यसको सुन्दरता नियाल्न रामारोशन पुग्न चाहनेहरुको संख्या बढ्दै गएको छ । सडक कालोपत्र नहुँदा रामारोशन पुग्न भने सहज छैन । रामारोशन पुग्न कैलालीको अत्तरिया देखि साँफेबगर २ सय ४५ किलोमिटर पक्की सडक रहेको छ भने साँफेबगर देखि जयगढ सम्म १५ किलोमिटर पनि पक्की रहेको छ ।


