चैत्र १७ डोटी । दिपायल सिलगढी नगरपालिका अन्तर्गत दिपायल र सिलगढी क्षेत्रमा चल्ने जिप चालकहरूले नगर बस सञ्चालनको ढाँचा प्रति असन्तुष्टि जनाउँदै आइतबार देखि सेवा बन्द गरेका छन् । नगर बसले सीमित क्षेत्रमा मात्र सेवा दिँदा आफूहरू मर्कामा परेको बताउदै चालकहरूको आइतबार देखि सेवा बन्द गरेका हुन ।
जिप चालक गोविन्द मलासीले नगर बसले दिपायल–सिलगढी क्षेत्रमै मात्र आवत जावत गर्दै अन्य रुटलाई बेवास्ता गरेको बताए । यसले व्यवसायमा प्रत्यक्ष असर पारेपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको उनले बताए । चालकहरूले तिखा, राजपुर, कलेना, शान्तिनगर र लडागडा क्षेत्रसम्म पनि नगर बस विस्तार गर्नुपर्ने माग गरेका छन् ।
सबै क्षेत्रमा समान सेवा सञ्चालन भए मात्र प्रतिस्पर्धा न्यायोचित हुने उनीहरूले बताएका छन । शैलेश्वरी यातायात व्यवसायी संघका अध्यक्ष गणेश मलासीले समस्या समाधानका लागि नगरपालिकासँग समन्वय गर्ने बताएका छन् । सेवा ठप्प भएपछि यात्रुहरू आवत जावतमा कठिनाइ भोगिरहेका छन् भने स्थानीयले तत्काल समाधानको माग गरेका छन् ।


