चैत्र १५ धनगढी । वर्षौँदेखि नदी कटानको त्रास झेल्दै आएका कैलालीको टीकापुर नगरपालिका वडा नम्बर–९ खक्रौलाका बासिन्दाले मोहना नदीमा तटबन्ध निर्माण भए पछि राहत महसुस गरेका छन् । मोहना नदीमा ६ सय ८० मिटर लामो बिगबोल्डर (ठूला ढुङ्गा प्रयोग गरिएको) तटबन्ध निर्माण सम्पन्न भए पछि स्थानीयले राहात महशुस गरेका हुन ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका अनुसार उक्त तटबन्ध चार करोड ११ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । बर्खा मात्र नभई हिउँदमा समेत हुने कटानले हैरान पारेको अवस्थामा तटबन्ध बनेपछि समस्या नियन्त्रणमा आएको स्थानीय खडग धामीले बताए ।
नदी कटानका कारण नेपाल–भारत सीमा स्थित १ सय ५ नम्बर पिलरसम्म जोखिममा परेको बताअउदै उनले बर्खायाममा घर बग्ने डरले रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए । तटबन्ध निर्माण भएपछि त्रास हटेको उनले बताए । सयौँ बिघा जमिन नदीले बगाउँदा धेरै परिवार विस्थापित भएको बताउदै धामीले आफ्नो लालपूर्जा भएको जमिनमै अहिले नदी बगिरहेको बताए ।
पाँच वर्ष अघि तटबन्ध बनेको भए धेरै परिवार विस्थापीत नहुने बताउदै उनले पटक–पटक मन्त्रालय र स्थानीय तहसँग आग्रह गरेपछि मात्र निर्माण कार्य अघि बढेको बताए । तटबन्ध निर्माण पछि भारतको वैष्णेदेवी मन्दिरमा जान र त्यहाँबाट पर्यटक आउन–जान सहज भएको स्थानीय रणसिंह धामीले बताए ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कञ्चनपुरका इञ्जिनियर उत्तम सुवेदीले तटबन्ध गत आर्थिक वर्षको बजेटबाट सम्पन्न गरिएको बताए । पूर्व प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेले स्थानीयको लामो समय देखिको माग पूरा भएको बताए ।
विगतमा बनेका तटबन्ध टिकाउ नभएकाले यसपटक ठूला ढुङ्गाको प्रयोग गरिएको बताउदै उनले कटान र डुबानबाट पीडित स्थानीयले अहिले राहत महशुस गरिरहेको बताए । न्यौपानेले सुक्खायाममा समेत कटान हुने गरेका कारण स्थानीय त्रसित हुने अवस्थाको अन्त्य भएको उनले बताए ।
सरकारबाट जनताको वास्तविक आवश्यकता अनुसार विकास भए मात्र प्रभावकारी हुने उनले बताए । स्थानीयका अनुसार मोहना नदीको कटानले नेपाली भूभाग भारततर्फ धकेलिएको छ । नदीपारि पुगेको जमिनमा नेपाली नागरिकले खेती गर्न नसकेको र भारतीय नागरिकले प्रयोग गरिरहेको वीरबहादुर चौधरीले बताए ।
कैलाली जिल्लामा कर्णाली र मोहना लगायतका नदीहरूले प्रत्येक वर्ष सयौँ बिघा जमिन कटान गर्ने गरेको छ । कर्णाली नदीले धार परिवर्तन गर्दा टीकापुर नगरपालिका र जानकी गाउँपालिका विशेष जोखिममा परेका छन् ।
टीकापुरका–२, ५, ७ र ८ नम्बरवडाहरू अझै पनि उच्च जोखिममा रहेका छन् । रानीजमरा कुलरिया सिँचाइ आयोजनाले करिब १२ स्थानमा तटबन्ध निर्माण गरिसकेको भए पनि नदीको धार परिवर्तन हुँदा एकातिर तटबन्ध बनाउँदा अर्को स्थानमा कटान बढ्ने समस्या देखिएको छ । दीर्घकालीन योजना बनाएर तटबन्ध निर्माण गरिए मात्र बस्तीलाई सुरक्षित राख्न सकिने स्थानीयले बताएका छन ।


