चैत्र १३ धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।
यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त गरिएको पहिलोपटक हो । मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलो पटक हो ।
काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलो पटक संसद् छिर्ने बित्तिकै प्रधानमन्त्री बनेका हुन् । झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले हराउँदै प्रतिनिधि सभा सदस्यमा शाह निर्वाचित भएका थिए ।
त्यसैगरी नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् ।
मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् । त्यसैगरी विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्व पाएका छन् । खड्कराज पौडेल (गनेश) ले पर्यटन मन्त्रीको जिम्मेवारी पाएका छन् ।
सस्मित पोखरेललाई शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छिन् ।
विक्रम तिमिल्सिना सञ्चार मन्त्री बनेका छन् ।
त्यसैगरी सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, श्रम मन्त्री दीपक साह (महोत्तरी) र कानुन मन्त्री सोविता गौतम बनेका छन । त्यसैगरी सीता वादी महिला, बालबालिका मन्त्री बनेकी छिन् । सामन्यतया मन्त्रीहरूले पहिलो निर्णय गरेर सार्वजनिक गर्ने चलन भए पनि उनले कुनै किसिमको निर्णय गरेकी छैनन ।
उनले तत्काल केही निर्णय नगरे पछि सल्लाह गरेर बताउने जवाफ दिएकी छिन । सुरूमा उनी सभामुखको चर्चामा भए पनि सभामुखमा डीपी अर्याललाई पठाउने गरी उनलाई मन्त्री बनाइएको हो ।


