चैत्र १३ कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा नदीको पुल सम्झौता भएको १२ वर्षपछि निर्माण सम्पन्न भएको छ । पुल निमार्णका लागि २०७२ साल पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको १२ वर्षपछि निर्माण सम्पन्न भएको हो ।
सम्झौता अनुसार पुल निर्माणको काम २०७५ पुस २६ मा सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता गरेको १२ वर्षपछि पुल निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय महेन्द्रनगरले जानकारी गराएको हो ।
पुल निमार्णको सम्झौता अनुरूप त्यतिबेला काम सुरु भएर तीनवटा पिलरसम्म निर्माण भए पनि पुलको फाउन्डेसनमा समस्या देखिए पछि डिजाइन परिर्वतन हुँदा पुल निर्माण हुन १२ वर्ष लागेको हो ।
“पुलको फाउन्डेसनमै समस्या देखिए पछि डिजाइन परिवर्तन गरेर पुल निर्माण गर्न समय लागेको डिभिजन सडक कार्यालय महेन्द्रनगरका इन्जिनियर हरिसप्रसाद जोशीले बताए ।
पुल निर्माण सम्पन्न भएर आवत जावत सुरु भइसकेको बताउदै उनले पुल निमार्णका लागि तीनपटक सम्म म्याद थप गरिएको बताए ।
दोदा नदीमा पुल नहुँदा वर्षौँदेखि स्थानीयले आवत जावतमा समस्या झेल्दै आएका थिए । “पुल बनेपछि आवतजावतमा सहज भएको बताएदै स्थानीय भूपेन्द्र चौधरीले वर्षात्मा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको बताए ।
पुल बनेपछि स्थानीयलाई राहत भएको बताउदै उनले नदीपारि बसाइ र वारि खेतबारीको काम गनुपर्ने भएकाले बाध्य भएर ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको बताए ।
त्यसैगरी स्थानीय रमेश महरले नदीपारि लालझाडीमा बसाइ रहेका धेरैको वारि कृष्णपुर नगरपालिकामा खेती भएको बताउदै पुल बनेपछि सहज भएको बताए । नदीमा पुल नहुँदा स्थानीयले रोपाइको सिजनमा सास्ती खेप्दै आएको उनले बताए ।
पुल निमार्णका लागि लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड २२ लाख ५७ हजार रुपैयामा ठेक्का सम्झौता भएको थियो ।


