चैत्र १२ धनगढी । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जीविकोपार्जन सुधारका लागि कैलालीका ९ वटै स्थानीय तहमा जीविकोपार्जन सुधारका लागि भैँसीपालन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पशुसेवा विज्ञ केन्द्रले धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका र मोहन्याल गाउँपालिकामा जीविकोपार्जन सुधारका लागि भैँसीपालन कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख चन्द्रकान्त पन्तले कैलालीका ९ वटै स्थानीय तहमा जीविकोपार्जन सुधारका लागि भैँसीपालन कार्यक्रम सञ्चालन गर्ने जानकारी गराएका हुन ।
कार्यक्रम सञ्चालनका लागि दुई करोड २५ लाख बजेट रहेको जानकारी गराउदै उनले भैँसीपालनलाई प्रवद्र्धन गर्ने, स्वस्थ पाडापाडी उत्पादन, दूध र मासु निर्यात, युवालाई भैँसीपालनमा प्रेरित गर्ने तथा भैँसीपालक किसानको आम्दानी वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।
भैँसीपालक किसानको उत्पादन बढाउने, किसानको जीविकोपार्जनमा मद्दत पुर्याउने कार्यक्रमको उद्देश्य रहेको बताउदै उनले यस कार्यक्रमबाट साना कृषक पनि लाभान्वित हुने बताए ।
कार्यक्रम अन्तर्गत पाडापाडी उत्पादनका लागि माउ भैँसी खरिद, सामुदायिक पशु प्रजनन केन्द्र स्थापना, गोठ निर्माण तथा सुधार, आहारा व्यवस्थापन लगायतमा किसानलाई अनुदान दिइने उनले जानकारी गराए ।
अनुदान प्राप्त गर्न कृषक समूह वा महिला कृषक समूह हुनुपर्ने तथा समूहमा आबद्ध भई कम्तीमा १० वटा भैँसी पालेको हुनुपर्ने प्राब्धान रहेको उनले जानकारी गराए ।


