चैत्र १० धनगढी । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ६० प्रतिशत राजस्व सङ्कलन गरेको छ । सत्ती भन्सार कार्यालयले चालु आर्थिक बर्षको आठ महिना फागुन सम्म वार्षिक लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
लक्षय प्राप्त गर्न बाँकी ४० प्रतिशत राजस्व चार महिनामा सङ्कलन गर्नुपर्ने देखिएको छ । कार्यालयले चालु आर्थिक बर्षमा १५ करोड ८४ लाख ४९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा फागुन सम्म नौ करोड ६२ लाख ४१ हजार राजश्व सङ्कलन गरेको हो ।
कार्यालयले लक्ष्यको सबैभन्दा कम साउनमा ६३ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । साउनमा एक करोड २८ लाख ९० हजार राजस्व सङ्कलन गर्नुपर्ने लक्ष्य भएपनि ४९.१७ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको कार्यालय प्रमुख चक्रबहादुर सोनीले जानकारी गराएका छन ।
सबैभन्दा बढी मङ्सिरमा एक करोड ६७ लाख ७४ हजार अर्थात् लक्ष्यको १३८.५१ प्रतिशत राजस्व सङ्कलन भएको उनले जानकारी गराए । मङ्सिरमा भन्सार कार्यालयले एक करोड २१ लाख १० हजार राजस्व सङ्कलनको लक्ष्य पाएको उनले जानकारी गराए ।
कार्यालयले बितेको आठ महिना मध्ये चार महिनामा लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको छ भने चार महिनामा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेको छैन ।
असोज, मङ्सिर, पुस र माघमा लक्ष्य भन्दा बढी राजस्व संकलन भएको जानकारी गराउदै कार्यालय प्रमुख सोनीले साउन, भदौ, कात्तिक र फागुनमा लक्ष्य हासिल गर्न नसकेको जानकारी गराए ।
त्यसैगरी भन्सार प्रमुख सोनीले चार महिनामा भन्सारले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्ने दाबी गरेका छन । सामानको आयात कतिसम्म हुन्छ भन्ने कुराले राजस्व सङ्कलनको लक्ष्य निर्धारण गर्ने बताउदै उनले लगभग अहिले सम्मको भन्सारबाट आयात हुने सामानको अवस्था हेर्दा लक्ष्य हासिल हुनेमा ढुक्क भएको बताए ।
खुला सिमानाका कारण कैयौँ चोरीपैठारीका घटना हुने हुँदा राजस्व सङ्कलनमा चुनौती देखिएको बताउदै भन्सार प्रमुख सोनीले भन्सारको स्तरोन्नति भएर क्वारेन्टाइन स्थापना भए करोडमा नभई अर्बमा राजस्व सङ्कलन हुने बताए ।
गत वर्ष भन्सारले लक्ष्यको ११९ प्रतिशत राजस्व सङ्कलन गरेको उनले जानकारी गराए । १२ करोड सात लाख ३२ हजारको लक्ष्य रहेकोमा १४ करोड ३७ लाख ८२ लाख राजस्व संकलन भएको उनले जानकारी गराए ।
त्यसअघिका तीन वर्ष भन्सारले लक्ष्य भन्दा कम राजस्व सङ्कलन गरेको छ । आर्थिक बर्ष २०८०÷८१ मा १२ करोड एक लाख ४७ हजार लक्ष्य रहेकोमा १० करोड दुई लाख ४२ हजार सङ्कलन भएको थियो ।
त्यसैगरी, आर्थिक बर्ष २०७९÷८० मा १६ करोड ९४ लाख ४१ हजार राजस्व संकलनको लक्ष्य पाएको भन्सार कार्यालयले सात करोड ५० लाख ४० हजार मात्रै सङ्कलन गर्न सmल भएको थियो ।
आर्थिक बर्ष २०७८÷७९ मा पनि सत्ती भन्सारले राजस्व लक्ष्य हासिल गर्न सकेको थिएन । २० करोड ५८ लाख ६१ हजारको लक्ष्य पछ्याएको भन्सार कार्यालयले १० करोड ६७ लाख ९३ हजार मात्र सङ्कलन गर्न सफल भएको थियो ।
त्यसैगरी २०७७÷७८ मा १४ करोड २३ लाख ४८ हजारको लक्ष्य पाएको भन्सार कार्यालयले १५ करोड ८३ लाख सात हजार राजस्व सङ्कलन गरेको थियो ।


