चैत्र ०९ कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने रानाथारु समुदायले परम्परागत रूपमा ‘चैतकी चराँई’ पर्व हर्षोल्लासका साथ मनाएका छन् । समुदायको सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको धार्मिक आस्था, सामाजिक एकता र जनस्वास्थ्यको कामनासँग सम्बन्धित चैतकी चराँई’ पर्व रानाथारु समुदायले हर्षोल्लासका साथ मनाएका हुन ।
स्थानीय गुरुवा सियाराम रानाले चैतकी चराँईको अवसरमा घर–घरमा अन्दीको भात, मिसौला, माछा, आलु लगायतका परिकार पकाइने बताए । तयार पारिएका पकवानहरूलाई गुरुवा मार्फत ७ भवानी र उनका भाइ लंगुणाको विधिपूर्वक पूजा गर्ने चलन रहेको उनले बताए ।
यस पर्वलाई गाउँ–नगरमा रोगव्याधि नफैलियोस्, सबैको रक्षा होस् भन्ने कामना सहित मनाइने गरिएको विश्वास रहेको उनले बताए । चैत र वैशाख महिना गरी दुई पटक चराँई मनाउने परम्परा रहे पनि केही स्थानमा ‘भजनी चराँई’का रूपमा चिनिने तेस्रो चराँई पनि विशेष रूपमा मनाइने उनले बताए ।
त्यसैगरी जमिन्दार रामपति रानाले चैतकी चराँईसँगै होली पर्वको औपचारिक बिदाइ समेत गरिने बताए । यस पर्वले पुराना संस्कारलाई निरन्तरता दिनुका साथै समुदायबीच एकता र सद्भाव पनि बढाउने काम गरेको उनले बताए । परम्परा, प्रकृति र सामाजिक स्वास्थ्यको सन्देश बोकेको ‘चैतकी चराँई’ आज पनि रानाथारु समुदायको जीवनशैलीको अभिन्न अंगका रूपमा जीवित रहेको उनले बताए ।


