चैत्र ०६ कञ्चनपुर । पूर्णागीरी मेला पछि कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ । भारत उत्तराखण्डको चम्पावत जिल्ला अन्तर्गत चुरे पहाडको शृङ्खलामा रहेको पूर्णागिरि माता दर्शन पछि महेन्द्रनगर र ब्रह्मदेवको सिद्धबाबाको पूजा आराधना गरेपछि मात्रै मनोकामना पूरा हुने किंवदन्ती अनुसार कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको हो ।
फागु पूर्णिमा देखि मेला सुरु भए पनि शुक्रबार बिहानै ैदेखि दर्शनार्थीको भीड बढेको हो । बिहानै देखि हजारौँ दर्शनार्थीको भीड बढेपछि मन्दिर र आसपासका क्षेत्रमा नेपाल प्रहरी र भीमदत्त नगरपालिकाको नगर प्रहरी व्यवस्थापनमा जुटेको छ । “पूर्णागिरिको दर्शन पछि सिद्धनाथ मन्दिरको दर्शन गर्नुपर्ने मान्यताका कारण हजारौँको सङ्ख्यामा दर्शनार्थी आउने गरेको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले बताए ।
भारतीय दर्शनार्थीको भोजनका लागि मन्दिर छेउमै भण्डारा लगाइएको बताउदै उनले दर्शनार्थीको भीडभाडसँगै महेन्द्रनगर, बह्मदेव, गड्डाचौकी लगायत क्षेत्रमा चहलपहल बढेको बताए । ब्रह्मदेव स्थित सिद्धनाथ मन्दीर संरक्षण समितिका अध्यक्ष केशवसिंह नायकले बजार क्षेत्रको पार्किङ व्यवस्थित गर्ने प्रयास गरिएको बताउदै नवरात्रा अवधिमा मात्रै दैनिक हजारौँ दर्शनार्थी सिद्धनाथ मन्दिर दर्शनका लागि आउने गरेको बताए ।
बर्षेनी फागूपूर्णिमा देखि असार सम्म पूर्णागिरि मेला लाग्ने गरेको बताउदै उनले तीन महिनामा सिद्धनाथ मन्दिर दर्शन गर्न एक लाख भन्दा बढी दर्शनार्थी आएको बताए । दर्शनार्थीका कारण बजार क्षेत्रमा चहलपहल बढे पनि पहिलेको जस्तो व्यापार नभएको अध्यक्ष नायकले बताए ।
होटल व्यावसाय, यातायात व्यावसाय भने यसबेला राम्रो हुने गरेको उनले बताए । त्यसैगरी, महेन्द्रनगरका व्यावसायी प्रमोद जजोदियाले आफूहरूले विगत एक दशक यता मिलेर नवरात्रिका बेला मन्दिरमा आउने दर्शनार्थीका लागि भण्डारा लगाउने गरेको बताए ।
“नवरात्रिका नौ दिन निःशुल्क भोजन गराउने गरेको बताउदै उनले दैनिक दुई–तीन हजार देखि आठ÷नौ हजार सम्म दर्शनार्थीले भोजन गर्ने गरेको बताए । सिद्धनाथ मन्दिर छेउमै ४० जना व्यापारी मिलेर हरेक वर्ष पूर्णागिरि मेलाका बेला निःशुल्क भोजनको व्यावस्था गर्ने गरेको उनले बताए ।


