चैत्र ०५ धनगढी । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा फर्निचर खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाउदै स्वतन्त्र विद्यार्थी युनीयनले तालाबन्दी गरैको छ । क्याम्पस प्रशासनले सार्वजनिक खरिद सम्बन्धी प्रचलित नियम र पारदर्शितालाई बेवास्ता गरेको आरोप लगाउदै स्वतन्त्र विद्यार्थी युनीयनले तालाबन्दी गरेको हो ।
स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासन र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो । स्ववियु अध्यक्ष दिपक राज भट्टद्वारा जारी विज्ञप्ति अनुसार क्याम्पसको हलका लागि फर्निचर खरिद गर्दा प्रतिस्पर्धात्मक प्रक्रिया अपनाइएको छैन । कोटेशन समेत नखोली काम अघि बढाइएको आरोप लगाउँदै आर्थिक पारदर्शिता र संस्थाको विश्वसनीयता माथि गम्भीर प्रश्न खडा भएको बताईएको छ ।
क्याम्पसमा गत माघमा सञ्चालन गरिएको राष्ट्रिय प्राज्ञिक सम्मेलनका लागि हल व्यवस्थापन गर्न ९९ हजार रुपैयामा एक सय वटा कुर्सी खरिद गरिएको बताईएको छ । क्याम्पसको सार्वजनिक खरिद नियमावलीको दफा (८६) खरिद सम्बन्धी व्यवस्थाको उप दफा (३) मा ५० हजार भन्दा माथि ५ लाख रुपैया सम्मको माल समान तथा सेवा गरिद गर्दा क्याम्पस प्रमुखले खरिद एकाईको सिफारिसमा १५ दिनको म्याद राखी सिल कोटेशन मार्फत खरिद गर्नुपर्ने व्यवस्था रहेको छ ।
उक्त नियम मिचेर अपारदर्शी रुपमा सामान खरिद गरिएको स्ववियु अध्यक्ष भट्टले बताएका छन । भट्टले पटक–पटक यस विषयमा ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् । क्याम्पस प्रमुखसंग कुरा गर्दा उल्टै म क्याम्पसको बोस हुँ, मेरा स्टाफहरुलाई जेसुकै निर्देशन पनि दिन्छु भनेर अभिव्यक्ति दिएको उने बताए ।
कोटेशन सम्बन्धी विवरण सार्वजनिक गर्न माग गर्दा क्याम्पस प्रमुखले तीन दिन भित्र उपलब्ध गराउने आश्वासन दिए पनि त्यसअघि तालाबन्दी गरिएको उनले बताएका छन् । स्विवयुले फर्निचर खरिद प्रक्रियाको छानबिन गर्न, गैरकानुनी निर्णय खारेज गर्न, दोषीमाथि कारबाही गर्न तथा आगामी दिनमा सबै खरिद प्रक्रिया पारदर्शी र नियम अनुसार सञ्चालन गर्न माग गरेको छ । माग पूरा नभए थप कडा आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ ।
क्याम्पस प्रमुख नरेश पन्तले आफूहरूले सबै प्रक्रिया पूरा गरेरै खरिद गरिएको दाबी गरेका छन् । विद्यार्थीहरूलाई तीन दिन भित्र विवरण दिने जानकारी दिँदा समेत तालाबन्दी गरिएको बताउदै उनले असन्तुष्टि व्यक्त गरेका छन् । चैत ७ गते हुने वार्षिक उत्सवको तयारी भइरहेको बेला यस्तो कदम चालिनुले कार्यक्रम प्रभावित पार्ने उद्देश्य देखिएको उनले बताएका छन ।


