चैत्र ०५ दार्चुला । नेपाल सरकार भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले थप ११ जना अव्यवस्थित बसोबासी, भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरेको छ ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले दुई वटा स्थानीय तहबाट सूचीकृत भएका सात वटा अव्यवस्थित बसोबासी र चार वटा सुकुमवासी गरेर ११ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरणको वितरणको तयारी गरेकोे हो ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाका अध्यक्ष लालसिंह धामीले महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका सुकुमवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडी बढेको बताए । यसअघि दुहुँ गाउँपालिका र शैल्यशिखर नगरपालिकाका ७२ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिसकेको जानकारी गराउदै अध्यक्ष धामीले समितिले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन १५ दिन भित्र जग्गा दर्ता गर्न आउन सूचना जारी गरेको बताए ।
त्यसैगरी नौ वटै स्थानीय तहका तीन हजार ७ सय २० भूमिहीन, दलित, सुकुमवासी, अव्यवस्थित बसोबासी र विगतमा काम अधुरा तथा अपूरा रहेकालाई जग्गाधनी प्रमाणपुर्जा दिन बाँकी रहेको बताए । आयोगले अहिले विगतमा काम अधुरा र अपूरा रहेका सेतो प्रमाणपुर्जा भएका नौगाड गाउँपालिकाका चार र महाकाली नगरपालिकाका सात जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने अन्तिम तयारी गरेको बताए ।
अव्यवस्थित बसोबासीलाई राजस्व चुक्ता गरेपछि तथा सुकुमवासीलाई निःशुल्क रूपमा प्रमाणपुर्जा वितरण गर्ने गरिएको उनले बताए ।
महाकाली नगरपालिकामा ४ सय ३१, शैल्यशिखर नगरपालिकामा ६ सय २८,लेकम गाउँपालिकामा १ सय ७३, नौगाड गाउँपालिकामा ३ सय २७, मार्मा गाउँपालिकामा १ सय ६८, अपिहिमाल गाउँपालिकामा ६ सय ९१, मालिकार्जुन गाउँपालिकामा ९ सय ४७, दुहुँ गाउँपालिकामा १ सय ६१ र व्यास गाउँपालिकामा २ सय ६६ भूमिहीन, दलित, सुकुमवासी, अव्यवस्थितको सङ्ख्या रहेको भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले जनाएको छ ।
जिल्लाका सबै अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने लक्ष्य रहेको बताउदै जिल्ला समिति दार्चुलाका अध्यक्ष धामीले सबै जनप्रतिनिधि र स्थानीय तहले साथ दिनु पर्ने बताए ।


