चैत्र ०३ डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर–२ मा निर्माण गरीएको कोल्ड स्टोर ८ महिना देखि प्रयोग विहीन भएको छ । कृषि उत्पादन भण्डारण गरी किसानलाई राहत दिने उद्देश्यले निर्माण गरीएको कोल्ड स्टोर ८ महिना देखि प्रयोग विहीन भएको हो ।
नगरपालिकाले ७५ लाख ८० हजार रुपैयाँ लागत अनुमान गरी बोलपत्र आह्वान गरिएकोमा २०८१ पुस २३ गते एसएस कन्स्ट्रक्सनले ६३ लाख १२ हजार ७ सय ९८ रुपैयाँमा ठेक्का पाएको थियो । २०८२ असार २० गते निर्माण कार्य सम्पन्न भए पनि अहिले सम्म सञ्चालन हुन नसक्दा ८ महिना देखि प्रयोग विहीन भएको हो ।
३० टन क्षमताको उक्त कोल्ड स्टोरमा तरकारी तथा फलफूल भण्डारण गर्न सकिने व्यवस्था गरिएको छ । भवन भित्र ६ वटा एसी जडान गरिएका छन भने करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको जेनेरेटर पनि राखिएको छ । नगरपालिकाका ओभरसियर सुनिल भण्डारीका अनुसार पूर्वाधार तयार भए पनि सञ्चालन कार्यविधि नबन्दा सेवा सुरु गर्न ढिलाइ भएको हो ।
‘संरचना तयार भएर आवश्यक उपकरण पनि जडान गरिएको बताउदै उनले सञ्चालनका लागि आवश्यक कार्यविधि नबन्दा प्रयोगमा ल्याउन ढिलाइ भइरहेको बताए । नगरपालिकाका कृषि शाखा प्रमुख हिक्मत साउँदले कोल्ड स्टोर सञ्चालनका लागि चालु आर्थिक वर्षमा ३ लाख ३४ हजार रुपैयाँ बजेट समेत विनियोजन गरिएको बताए ।
कोल्ड स्टोर नयाँ अभ्यास भएको बताउदै उनले सञ्चालन मोडालिटी तय गर्न केही समय लागेको बताए । अब चाँडै सञ्चालन गर्ने तयारी भइरहेको बताउदै उनले कोल्ड स्टोर सञ्चालनमा आए स्थानीय किसानलाई ठूलो राहत पुग्ने बताए । अहिले उत्पादन भएका तरकारी तत्काल बजारमा बेच्नु पर्दा किसानले उचित मूल्य पाउन नसकेको बताउदै उनले उत्पादन गरेका तरकारीले राम्रो भाउ नपाउने बताए ।
नगरपालिकाको वडा नम्बर–५ घोल्ताडाका कृषक नवीन भण्डारीले मिहिनेत र खर्च धेरै हुने बताउदै आम्दानी कम हुने बताए । कोल्ड स्टोर सञ्चालनमा आए केही दिन राखेर राम्रो मूल्यमा बेच्न सकिने उनले बताए । दिपायल सिलगढी नगरपालिका भित्र घोल्ताडा, दिपायल सिलगढी नगरपालीका वडा नम्बर–२ पनेबाटा, वडा नम्बर ४ मटेला, कुमालीकोट–पिपल्ला र दिपायल क्षेत्रलाई प्रमुख तरकारी पकेट क्षेत्र मानिदै आएको उनले बताए ।
ती क्षेत्रमा बर्षेनी ठूलो परिमाणमा तरकारी उत्पादन हुने भए पनि भण्डारणको अभावमा किसानले समस्या भोग्दै आएको उनले बताए । यही समस्यालाई समाधान गर्ने उद्देश्यले कोल्ड स्टोर निर्माण गरिएको भए पनि संरचना बनेको लामो समय बित्दा समेत सञ्चालनमा आउन नसक्दा किसानले समस्या झेल्नु परेको उनले बताए । कार्यविधि छिट्टै बनाएर कोल्ड स्टोर सञ्चालनमा ल्याउन सके कृषि उत्पादनको उचित व्यवस्थापन र किसानको आम्दानी दुवैमा सुधार आउने स्थानीयले बताएका छन ।


