चैत्र ०२ बाजुरा । बाजुरामा छाउगोठ भत्किए पनि छाउ प्रथा अझै यथावत रहेको छ । स्थानीय महिलाहरूले बस्दै आएका छाउगोठ भत्किए पनि स्थानीयहरूको सोचमा परिवर्तन नआए पछि छाउप्रथा यथावत रहेको हो ।
छाउप्रथाका कारण स्थानीय किशोरीहरूले महिनावारी भएको बेला चिसो छाउगोठमा बस्न बाध्य हुनुपरेको छ । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर–५ डोगडीकी किशोरी पवित्रा बुढाले महिनावारी हुँदा घरमा बस्दा देवता रिसाउने सोचका कारण महिलाहरू र किशोरीहरूलाई बाहिर छाउगोठमा राखिने गरिएको बताईन ।
त्यतिमात्र होइन, महिनावारी भएका महिलाहरूलाई दही, मही र दूधजस्ता पौष्टिक खानेकुरा पनि नदिइँने उनले बताईन । अभिभावक र धामी–झाँक्रीहरूको प्रभावका कारण छाउप्रथा कायम रहेको उनले बताईन । अहिलेका किशोरीहरूले घरमा बस्न खोजे पनि पहिलेका महिलाहरूले बस्न नदिने भएकाले बाहिर छाउगोठमा बस्न बाध्य हुनु परेको उनले बताईन ।
मैले आफैं आफ्ना घरवालालाई बुझाएर घरमा बस्न पाएँ, तर अन्य किशोरीहरू अझै छाउगोठमा बस्दै आएका छन् । छाउगोठमा बस्दा झन्डै तीन जनाको ज्यान गएको घटना पनि छ उनले भनिन । २०७५ पुस २५ गते बुढीनन्दा–९ अगाउँपानीमा आमा अम्भा बोहरा र उनका दुई छोरा सहितको छाउगोठमा आगोले ज्यान गएको थियो ।
बाजुरामा हालसम्म करिब ५ सय ४० वटा छाउगोठ भत्किएका छन्, तर स्थानीयको सोच परिवर्तन नभए पछि छाप्रथा कायमै रहेको छ । त्रिवेणी, खप्तड छेडेदह, बडीमालिका, हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा गौमुल र बुढीगङ्गा नगरपालिकामा छाउप्रथा अझै कायमै रहेको छ । बुढीगङ्गा नगरपालिकामा सबैभन्दा बढी महिलाले छाउप्रथा मान्ने गरेका छन ।
महिलाहरू महिनावारी हुँदा महि, दही र दूधजस्ता पोषिला खानेकुरा पाउँदैनन् र गाई–भैसी समेत छुन पाउँदैनन् । जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी निरौलाले महिनावारी भएको बेलामा छाउगोठमा बस्न प्रोत्साहन गर्ने निवेदन आउने वित्तिकै कानुनी कारबाही गरिने बताएका छन । गोठ भत्काएर मात्र समस्या समाधान ाहुँदैने बताउदै उनले सबैभन्दा ठूलो बाधा स्थानीयहरूको सोच भएकाले सोच भत्काउनु पर्ने बताए ।
सोचमा परिवर्तन आएपछि मात्रै छाउप्रथा हट्ने बताउदै उनले धर्म र रीतिरिवाजका कारण छाउ प्रथा जारी भए पनि कानुनी रूपमा गलत भएको बताए । महिनावारी भएकालाई घरबाट खानेकुरा वञ्चित गर्नु वा छाउगोठमा बस्न बाध्य पार्नु कानुन विरुद्धको कार्य भएको बताउदै उनले यस्तो गरेको खण्डमा जिम्मेवार व्यक्तिविरुद्ध कारबाही गरिने बताए ।


