फागुन २८ कञ्चनपुर । कञ्चनपुरमा सिचाईको अभावले चैते धानको खेती गर्ने किसानको सङ्ख्या बर्षेनी घट्दै गएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुर र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार चैते धान लगाउने किसानको सङ्ख्या हरेक वर्ष घट्दै गएको हो ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्मबहादुर साउँदले सिँचाइ सुविधा नहुँदा ४ सय हेक्टरमा खेती हुने गरेको चैते धान अहिले डेढ सय हेक्टरमा मात्रै हुने गरेको बताए । हाल कञ्चनपुरमा १ सय ५० हेक्टर क्षेत्रमा खेती हुने गरेको उनले बताए । किसानलाई विभिन्न किसिमका कृषि उपकरण र सिँचाइका लागि बोरिङ लगायतका सुविधा उपलब्ध गराउने गरेको साउँदले बताए ।
चैते धान खेतीका लागी धेरै सिँचाइ आवश्यक हुने बताउदै उनले सिँचाइ सुविधा उपलब्ध नहुँदा चैते धानखेती घट्दै गएको बताए । अधिकृत साउँदले ज्ञान केन्द्रबाट किसानलाई ५० प्रतिशत अनुदानमा सिँचाइका लागि बोरिङ उपलब्ध गराउँदै आएको बताउदै त्यसले पर्याप्त रुपमा सिँचाइ हुन नसकेको बताए ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरले चैते धानखेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत किसानलाई बीउ, मलखाद, सिँचाइ र जोत्ने उपकरण समेत सहयोग गर्दै आएको उनले बताए । चैते धान अन्य धान भन्दा उत्पादन धेरै हुने बताउदै अधिकृत साउँदले “किसानलाई प्राविधिकको समेत सहयोग हुने बताए ।
चैते धान अन्य धानको तुलनामा बढी फल्ने भए पनि सिँचाइ अभावकै कारण खेती गर्न नसकिएको स्थानीय किसानले गुनासो गरेका छन । किसान खुसीराम चौधरीले उत्पादन राम्रो हुने बताउदै पानी पनि धेरै चाहिने बताए । सिँचाइका लागि पर्याप्त पानीको सुविधा नभएको बताउदै उनले चैत–वैशाखमा महाकाली सिँचाइ नहरमा पानी उपलब्ध नहुँने र बोरिङको पानीले चैते धानलाई नपुग्ने बताए ।
सिँचाइकै कारण खेत बाँझो रहन थालेपछि चैत धान लगाउन छाडेको उनले बताए । एकातर्फ सिँचाइ अभाव र अर्कातर्फ छाडाचौपायाका कारण खेती गर्न निकै समस्या हुने गरेको अर्का किसान पल्लवराज जोशीले बताए । “सिँचाइको व्यवस्था भए सबै भन्दा उपयुक्त चैते धान भएको बताउदै उनले चैते धानलाई पानीको आवश्यकता भएको समयमा खडेरी हुने गरेको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यालयले पनि कञ्चनपुरमा लक्ष्य अनुसारको धानखेती हुन नसकेको जनाएको छ ।
कञ्चनपुरमा कुल खेतीयोग्य जमिन एक लाख ६१ हजार ७ सय ४१ हेक्टर रहेको छ । जसमध्ये ५९ हजार ६ सय २ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुने गरेको छ । यसको २९ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा उपलब्ध हुने गरेको छ । कञ्चनपुरमा ४८ हजार ६ सय हेक्टरमा धानखेती हुने गरेको छ ।
कञ्चनपुरमा हाल महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ । विसं २०४२ मा सुरु भई २०४८ मा सम्पन्न भएको महाकाली सिँचाइ पहिलो चरणबाट चार हजार ८ सय हेक्टर र २०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट ६ हजार ८ सय हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिँचाइबाट भीमदत्त, बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिका सम्म सिँचाइ सुविधा उपलब्ध छ ।


