फागुन २८ धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकाका एक जना दम्पत्ती खुट्टा भाचिएर अस्पतालको शैय्यामा रहेका छन् । बाजुराको जगन्नाथ गाउँपालीका वडा नम्बर–३ तलकोट बस्ने ३५ बर्षका पूर्वे ढोली र उनकी ३० बर्षीय श्रीमती विष्णु ढोली दुवै जनाको खुट्टा भाँचिएर जिल्ला अस्पतालको शैय्यामा रहेका हुन् ।
करिब एक हप्ताअघि श्रीमान पूर्वे ढोलीको घर नजिकै खानेपानीको लाइन मर्मत गर्न लाग्दा एक्कासी लडेर दायाँ खुट्टा भाँच्चिएको थियो भने फागुन २६ गते घर भिरबाट खसेको ढुंगा लागेर श्रीमती विष्णु ढोलीको दायाँ खुट्टा भाँचिए पछि अहिले उनीहरु अस्पतालको शैय्यामा रहेका हुन ।
खुट्टा भाचिए लगत्तै पूर्बे उपचारका लागि बुढीनन्दा नगरपालिका–२ स्थित कोल्टी अस्पताल पुगेका थिए । चिकित्सकले खुट्टा प्लास्टर गरी दिए पछि केही दिन देखि उनी अस्पतालमै उपचाररत रहेको अबश्थामा उनकी श्रीमती विष्णु पनि खुट्टा भाचिएर अस्पताल पुगेकी हुन । फागुन २६ गते घरबाट मावली घर ढाडाकोट जादैँ गर्दा बिच बाटोमा एक्कासी माथि भिरबाट खसेको ढुंगा लागेर उनको दायाँ खुट्टा भाँचिएको हो ।
श्रीमती विष्णु उपचारका लागि जिल्ला अस्ूपताल पुगेपछि अहिले उनीहरु दुवै जना दम्पत्तीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकहरुले दुवै जना दम्पत्तीको उपचार गर्न तथा विष्णुको खुट्टामा रड हाल्न ५० हजार बढी खर्च लाग्ने बताएका छन् । घरका मुली श्रीमान् श्रीमती दुवै जना घाइते भएर अस्पतालको शैय्यामा हुँदा घरपरिवार बिचल्लीमा परेको छ । पूर्वेको घरमा एक छोरा र तीन छोरी र बुवा रहेका छन् ।
तीन महिनाकी छोरीलाई साथमा लिएर उपचारका लागि दुवै जना अस्पताल आएपछि परिवार विचल्लीमा परेको हो । एकातिर आर्थिक अभावमा उपचार गर्न समस्या भएको छ भने अर्कोतिर घरमा उनका बुवा पनि बिरामी हुँदा दैनिक छाक टार्न तथा छोराछोरीको पालनपोषण गर्न समस्या भएको छ ।
श्रीमतीको खुट्टामा हाल्न रड धनगढी, काठमाडौंबाट ल्याउनु पर्ने भएकाले आफूहरुसँग पैसा नहुँदा समस्या भएको बताउदै उनले सबैलाई सहयोगका लागि गुहार मागेका छन् । थप जानकारी तथा सहयोगका लागि उनका आफन्त राजेन्द्र नेपालीको सम्पर्क नम्बर ९७६११७०४८५ मा फोन गरी सहयोग गर्न सकिने छ ।


