फागुन २६ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मङ्गलबार देखि बाघ गणना सुरु भएको छ । राष्ट्रिय बाघ गणना अन्तर्गत शुक्लाफाँटासँगै लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरी बाघ गणना सुरु भएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले मंगलबार बिहान कार्यक्रम आयोजना गरी निकुञ्ज कार्यालयले औपचारिक रुपमा बाघ गणना सुरु गरेको जानकारी गराएको हो । शुक्लाफाँटा–लालझाडी–जोगबुडलाई दुई गुणा दुई किलोमिटरका २ सय ६० ग्रिडमा विभाजन गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।
यसअघि ४३ पाटेबाघ गणना गरिएको शुक्लाफाँटामा हरेक वर्ष बाघ गणना गरिँदै आएको छ । ३ सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा देशमै थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्ज हो । आहार प्रजातिको पर्याप्तताका कारण यहाँ बाघको सङ्ख्या धेरै भएको जनाइएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बाघ गणनाका लागि ५ सय ८० स्वचालित क्यामेरा जडान गरिएको जानकारी गराउदै ७७ जनाको प्राविधिक टोली खटिने जानकारी गराए ।


