फागुन २५ धनगढी । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन । सिंहदरबार स्थित कानुन,न्याय तथा मानव अधिकार समितिको हलमा आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल समक्ष नव निर्वाचित सदस्यहरूले शपथ लिएका हुन् ।
गत माघ ११ गते राष्ट्रिय सभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो । निर्वाचन आयोगका अनुसार गत माघ ११ गते सातै प्रदेशमा १८ पदका लागि भएको निर्वाचनमा एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरू विजयी भएका थिए । कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए ।
निर्वाचन पछि एमालेका सोम पोर्तेल र रोशनी मेचे विजयी भए । त्यस्तै मधेशमा महिला क्लस्टरतर्फ एमालेकी उम्मेदवार रेखा झा, अल्पसंख्यक क्लस्टरमा कांग्रेसका रंजित कर्ण, दलित क्लस्टरमा कांग्रेसका धर्मेन्द्र पासवान र अन्यतर्फ महन्थ ठाकुर विजयी भएका थिए ।
त्यस्तै बागमती प्रदेशबाट महिला क्लस्टरमा कांग्रेसकी गीता देवकोटा र अन्य क्लस्टरमा उम्मेदवार बनेका एमालेका डा. प्रेम प्रसाद दंगाल विजयी भएका थिए । त्यस्तै राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट अन्यमा कांग्रेसका जगत तिमिल्सिना र महिलामा एमालेकी सम्झना देवकोटा विजयी भएकी थिईन ।
लुम्बिनीबाट एमालेकी रामकुमारी झाँक्री महिला कोटाबाट, अपांगता कोटामा कांग्रेसका बासुदेव घिमिरे र अन्य समूहको कोटामा काग्रेसकै चन्द्रबहादुर केसी विजयी भएका थिए ।
त्यस्तै कर्णालीबाट अन्य कलस्टरबाट उम्मेदवार बनेका कांग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार रहेकी एमालेकी मिनासिं रखाल निर्वाचित भए भने सुदूरपश्चिमबाट महिलातर्फ एमालेकी उम्मेदवार लीला भण्डारी र खुल्लातर्फ कांग्रेसका खम्मबहादुर खाती विजयी भएका थिए ।


