फागुन २२ बझाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङबाट नेकपा एमालेका उम्मेदवार ऐन महर निर्वाचित भएका छन् । एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज समेत रहेका महरले कुल १८ हजार ५ सय ४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहा मन्त्री प्रकाश रसाइली स्नेहीले १६ हजार ३ सय ४ मत प्राप्त गरेका छन् । महरले रसाइलीलाई २ हजार २ सय ३९ मतान्तरले पराजित गरेका हुन् । बझाङमा नेकपा तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो स्थानमा रहेका छन् ।
नेकपाका मीनबहादुर कुँवरले ९ हजार ७ सय ५७ मत प्राप्त गर्दा रास्वपाका शैलेशकुमार सिंहले ९ हजार २ सय ६३ मत प्राप्त गरेका छन् । निर्वाचन क्षेत्रमा सात जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । प्रारम्भिक मतगणना देखि नै अग्रता बनाएका महरले अन्ततः स्पष्ट मतान्तर सहित जित सुनिश्चित गरेका छन् ।


