फागन २२ मनाङ । मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार गुरुङ २ हजार ४ सय १५ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४ सय ५४ मत प्राप्त गरिन् । नेशनल मंगोल अर्गनाइसेजनका रामबहादुर घलेले ९ मत ल्याएका छन् ।
यो नेपाली कांग्रेसको दोस्रो जित हो । यसअघि मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित भइसकेका छन् । गुरुङ विजयी भएपनि उनले सांसदको शपथ लिन भने नपाउने भएका छन् ।
विशेष अदालतबाट भृकुटीमण्डप स्थित समाज कल्याण परिषद्को जग्गा भाडामा अनियमिततामा भ्रष्टाचारी ठहर भएकाले विजयी भएपनि शपथग्रहण गर्न नपाउने भएका हुन ।
विशेष अदालतले २०७९ फागुन १५ मा गुरुङलाई भ्रष्टाचारको मतियारमा दोषी ठहर गर्दै उनीबाट एक करोड २१ लाख रुपैयाँ असुल्नु पर्ने फैसला गरेको थियो । हाल गुरुङको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।


