फागुन २२ झापा । झापा निर्बाचन क्षेत्र नम्बर–५ को मत गणना चलिरहेको दमक नगरपालिका वडा नम्बर–८ अर्गानिक कृषि भवन बाहीर बालेन सरकार जिन्दाबादको नारा लगाएका छन । मतगणना स्थलबाट करिब २ सय मिटर अघि उनीहरूलाई रोकिएको भए पनि शुभेच्छुकहरुले बालेन सरकार जिन्दावाद भन्दै नारा लगाएका हुन ।
झापामा यतिबेला गर्मी बढीसकेकाले असिनपसिन भएका शुभेच्छुक मत परिणाम सुन्न आतुर देखिएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन साहको मत परिणाम सुन्न काठमाडौं उपत्यका देखि झापाको छिमेकी जिल्ला सम्मका शुभेच्छुक आइपुगेका छन् ।
तीमध्येका एक हुन् ललितपुर क्षेत्र नम्बर १ मा बिहीबार मतदान गरेर शुक्रबार बिहानको फ्लाइटबाट दिउँसो झापा आइपुगेका २९ वर्षीय प्रकाश घिमिरे । अमेरिकामा बस्दै आएका उनी नयाँ पुस्तालाई भोट दिन आएका रहे छन् । ‘अमेरिकाबाट भोट हाल्न आएका उनले काठमाडौंबाट बालेनलाई भोट दिने जनता हेर्न झापा आएको बताए ।
युवा एक भएको समय छ । ५ वर्ष देशका लागि काम गर्ने प्रतिनिधि चुन्न आएको हुँ उनले भने ।’ देशलाई आवश्यक परेको महसुस गरेर उनी नेपाल आएका रहेछन् । ‘आफ्नो फाइदा हेरेर मात्र हुँदैन । यो समय देशका लागि एक मत पनि आवश्यक भएकाले आएको हुँ, ‘उनले भने ।
छिमेकी जिल्ला मोरङबाट बालेनको मत परिणाम सुन्न आएका शुभेच्छुक पनि छन् । २१ वर्षीय सन्देश निरौला र २२ वर्षीय सौरभ निरौला उर्लाबारीबारी देखि आएका रहेछन् । ‘बालेनको जित हेर्न आएका हौं । विजयी भएपछि उहाँले देशको लागि काम गर्नुहुन्छ भन्ने विश्वास छ । मुख्य कुरा देश सिस्टममा चल्नु प¥यो,’ उनीहरूले भने, ‘जेनजीको माग सुशासन र भ्रष्टाचार अन्त्य हो त्यो हुनुप¥यो ।’
मतगणनास्थल वरिपरि स्थानीयका घरहरू छन् । जब माइकिङ सुरु हुन्छ, घरघरबाट नतिजा सुन्न स्थानीय निस्कन्छन् । २१ वर्षीय रिवाज लुइँटेलको घर मतगणनास्थल नजिकै पर्छ । उनी शुक्रबार काममा गएका थिए । तर नजिता सुन्न कामै छोडेर आए । ‘घरमा बस्न मन लाग्दैन ।
अफिस गएको काम गर्न पनि मन लागेन । मन आफूले दिएको मत के भयो भनेर खुलदुली हुने रहेछ,’ उनले भने । हिजो रातिदेखि मत गणना सुरु भएको हो । स्थानीयलाई निद्राभन्दा ज्यादा मतले ध्यान तान्छ । सिसम अधिकारी, समीक्षा अधिकारी बिनिता खतिवडा र अप्सरा खत्री मत परिणाम सुन्न राति पनि जागै हुन्छन् । सडकमै आएर बलेनले धेरै मत ल्याएकोमा उनीहरू उत्साहित देखिन्थे ।‘घर नजिकै छ ।
माइकिङ हुने बित्तिकै जुरुक्क उठेर सुन्छौं । कसले जित्ला भन्ने चासो लाग्छ नि । आज त सडकमै आएको सुन्न,’ उनीहरूले भने, ‘अब नयाँ पुस्ताले देश चलाउनुपर्छ । बलेनले जित्नुपर्छ ।’ झापा–५ मा २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । मत परिणाम अनुसार रास्वपाका वरिष्ठ नेता बालेन साह अगाडि छन् ।
उनले ६ हजार ५ सय ५१ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमाले अध्यक्ष एवं पूर्वप्रधान मन्त्री केपी ओलीले १ हजार ४ सय २८, कांग्रेसकी मन्धरा चिमरियाले २ सय १६, नेकपाका रन्जित तामाङले १सय ६५, श्रम संस्कृति पार्टीका समिर तामाङले ३ सय ८१ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले १ सय ३६ मत ल्याएका छन् ।
अहिलेसम्म ९ हजार ४ सय १२ मत मत गणना हुँदा ८ हजार ९ सय ८५ मत सदर भएको छ । ४ सय २७ मत बदर भएको छ । यो क्षेत्रमा १ लाख ६३ हजर ३ सय ७९ मतदाता रहेका छन् । जसमा ६४ प्रतिशत मत खसेको छ । बिहीबार १ सय ८५ मतदान केन्द्र र ६१ वटा स्थलमा बिहीबार मतदान भएको थियो । अहिले धमाधम मत गणना कार्य जारी रहेको छ ।


