फागुन २२ रुकुम । रुकुम पूर्वमा पूर्वप्रधान मन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् । प्रचण्ड ११ हजार २ सय ८२ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ९ सय ३३ मत पाए । त्यस्तै कांग्रेस उम्मेदवार कुसुम थापाले ३ हजार २ सय ८० मत पाउँदा रास्वपाका लखनकुमार थापाले ७ सय ९१ मत ल्याए । त्यस्तै प्रलोपाका सन्दीप पुनले २ सय १ मत ल्याए । प्रचण्ड लगातार पाँचौँपल्ट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
पहिलो संविधानसभा निर्वाचनमा उनी काठमाडौं १० र रोल्पा २ बाट निर्वाचित भएका थिए । संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नंम्बर ५ बाट निर्वाचित र काठमाडौं १० बाट पराजित भएका थिए ।
२०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी गोरखा २ बाट निर्वाचित भएका थिए ।


