फागुन १५ धनगढी । भारतको मुम्बईमा जारी आइसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडी लोकेश बम र शेर मल्ललाई सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले नगद सहित सम्मान गरेको छ । कलेजका विद्यार्थी समेत रहेका लोकेश बम तथा ब्रान्ड एम्बेस्डर शेर मल्ललाई कलेजले जनही एक लाख एक हजार रुपैयाँ नगद सहित ‘एसपीए सम्मान’ प्रदान गरेको हो ।
कलेजको २७ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा दुवै जना खेलाडीलाई सम्मान गरिएको हो । विश्वकप अन्तर्गत इङ्ल्यान्ड विरुद्धको खेलमा लोकेशले २० बलमा चार चौका र दुई छक्काको मद्दतले ३९ रनको शानदार पारी खेलेका थिए । त्यसैगरी आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलको पहिलो बलमै शेर मल्लले फिल साल्टको विकेट लिएका थिए ।
समारोहका प्रमुख अतिथि एवं शिक्षाविद् डा. हेमराज पन्त तथा कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले खेलाडीलाई दोसल्ला ओढाई सम्मान गरेका थिए । लोकेश बमले जय ट्रफी खेलिरहेकाले उनको सम्मान पत्र उनकी आमा शान्तादेवी बमले ग्रहण गरेकी थिईन । एसपीए कलेजमा दुई दर्जन भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी आबद्ध रहेका छन् ।
कलेजमा लोकेश सहित यू–१९ टोलीका नारायण जोशी, बसन्त कार्की, सिनियर महिला राष्ट्रिय टोलीका कविता कुँवर, ईश्वरी विष्ट तथा यू–१९ महिला राष्ट्रिय टोलीका लक्ष्मी साउद, यशोदा विष्ट, सुमन विष्ट, मनिषा चौधरी र मनिषा उपाध्याय अध्ययनरत् छन । कलेजले आफ्नो विशिष्ट प्रतिभा मार्फत समाज र देशलाई योगदान पु¥याउने व्यक्तित्वहरूलाई बर्षेनी एसपीए सम्मान’ प्रदान गर्दै आएको छ ।


