फागुन १३ डोटी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डोटीमा १ हजार ७९ जना कर्मचारी मतदानमा खटिएका छन् । जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले उक्त कुराको जानकारी गराएका हुन ।
जिल्लाभरी एक अस्थायी केन्द्र सहित कुल १ सय ८१ मतदान केन्द्र रहेको जानकारी गराउदै उनले प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत र एक सहायक मतदान अधिकृत खटाइएको जानकारी गराए । ३ सय भन्दा बढी मतदाता भएका केन्द्रमा तीन जना सहायक कर्मचारी र ३ सय भन्दा कम मतदाता भएका केन्द्रमा दुई जना सहायक कर्मचारी परिचालन गरिएको उनले बताए । हरेक केन्द्रमा एक जना सहयोगी कर्मचारी पनि नियुक्त गरिएको उनले बताए ।
त्यसैगरी जिल्लामा ३ सय भन्दा कम मतदाता भएका सात वटा मतदान केन्द्र रहेको उनले जानकारी गराए । जिल्ला निर्वाचन अधिकारी करुणाकर पन्तले मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि बिहीबार र शुक्रबार तालिम सञ्चालन गरिएको जानकारी गराए । उनले निर्वाचनका लागि आवश्यक मतपत्र तथा अन्य सामग्री जिल्लामा आइपुगेको पनि बताए ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको बताइन् । उनले सबै पक्षलाई सहयोग गर्दै निर्वाचन सफल बनाउन आह्वान समेत गरेकी छिन ।


