फागुन १२ धनगढी । भजनी नगरपालिका वडा नम्बर–७ मा रहेको श्री हलौना बाबा आधारभूत विद्यालयमा अभिभावकको चन्दाबाट शिक्षकलाई न्यून पारिश्रमीक दिने गरिएको छ । विगत तीन वर्षदेखि गाउँकै सामुदायिक विद्यालय श्री हलौना बाबा आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका सञ्जय लोनियालाई अभिभावकको चन्दाबाट न्यून पारिश्रमीक दिने गरिएको हो । वडामा रहेको श्री हलौना बाबा आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका लोनियाले वार्षिक २० देखि २५ हजार पारिश्रमिक पाउने गरेका छन ।
अभिभावकहरूले स्वःस्फुर्त रूपमा दिएको चन्दाले लोनियाले वर्षभरि अध्यापन गराए बाफत पाउने २०÷२५ हजार पनि नियमीत पाउन सकेका छैनन । अभिभावक, समाजसेवी तथा अन्य स्थानीयले स्वेच्छिक रूपमा जति सङ्कलन गरेर दियो, त्यसैमा लोनियाले चित्त बुझाउनु पर्ने अबश्था रहेको छ । ग्रामीण क्षेत्र आर्थिक अवस्था निकै कमजोर भएका बालबालिका अध्ययन गर्दै आएको उक्त विद्यालय व्यवस्थापन समितिले अभिभावकबाट चन्दा सङ्कलन गरेर पारिश्रमिक दिने निर्णय गरेपछि उनले आफ्नो अध्ययनसँगै विद्यालयमा अङ्ग्रेजी विषयको शिक्षण गराउँदै आएको बताए ।
विद्यालयमा विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक जनशक्ति कम रहेको बताउदै उनले पठनपाठनमा समस्या भएपछि विद्यालय व्यवस्थापन समितिले चन्दा सङ्कलन गरेर पारिश्रमिक दिनेगरी निर्णय गरेर आफुले अध्यापन गराउन थालेको बताए । न्यून पारिश्रमिक भए पनि गाउँको विद्यालय, आफ्नै बालबालिका अध्ययन गर्ने भएपछि समितिको निर्णय स्वीकार गर्दै काम गरिरहेको उनले बताए ।
बालबालिकाले शिक्षाको अभावमा अभिभावकले भोगेको जीवनशैली व्यतित नगरुन् भन्ने अपेक्षाका साथ बालबालिकाको भविष्यलाई सोचेर पैसाका लागि मात्र शिक्षण नगरेको लोनियाले बताए । थारु बाहुल्यता रहेको काँढा गाउँका अधिकांश नागरिक कृषि र ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका भए पनि उनले कक्षा १२ सम्मको अध्ययन गरेका छन् । पढाइ गर्नुपर्छ भन्ने मानसिकता निकै कमको भएको बताउदै लोनियाले पढाइ गर्नुपर्छ भन्ने निकै कम भएको बताए ।
सबैलाई जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता हुने गरेको बताउदै उनले त्यो देखेर बालबालिकालाई पढाइमा लगनशील बनाउन स्थानीयको आग्रहमा काम गरिरहेको बताए । अङ्ग्रेजी र स्वास्थ्य शारीरिक शिक्षाको अध्यापन गराउँदै आएको बताउदै उनले दैनिक छ घन्टी अध्यापन गर्ने गरेको बताए । आफ्नै गाउँघरका बालबालिकालाई अध्यापन गराउन पाउँदा निकै खुसी लागेको बताउदै उनले विद्यालयमा हाल १ सय ७१ जना विद्यार्थीले अध्ययन गरिरहेको बताए ।
पाँच कक्षासम्मको अध्ययन हुँदै आएको विद्यालयमा लोनिया बाहेक छ जना शिक्षक कार्यरत रहेका छन् । त्यसमा पनि दुईजना बालविकास, दुईजना प्राथमिक तह स्थायी, एक जना राहत र एक जना नगर अनुदानका कार्यरत छन् । विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक सङ्ख्या कम भएकै कारण स्थानीयले लोनियालाई चन्दा सङ्कलन गरेर शिक्षकको जिम्मेवारी दिइएको प्रधानाध्यापक महेश्वरी ओझाले बताईन ।
विद्यालयसँग आम्दानीको कुनै स्रोत नभएको बताउदै उनले तीन कट्ठामा सीमित रहेको विद्यालयसँग पाँच बिघाभन्दा बढी ऐलानी जग्गा भएको बताईन । ऐलानी जग्गा स्थानीयले अतिक्रमण गरेर वर्षौँदेखि भोगचलन गर्दै आएको उनले बताईन । विसं २०६३ सालमा स्थापना भएको विद्यालयका लागि त्यसबेला विद्यालयसँग जोडिएको पाँच बिघाभन्दा बढी जग्गा अतिक्रमण खाली गरेर विद्यालयको आम्दानीसँग जोड्ने निर्णय भएर हस्तान्तरण समेत भएको उनले बताईन ।
पछि पुनः स्थानीयले जग्गा अतिक्रमण गरेर भोगचलन गर्न थालेपछि विद्यालय समस्यामा पर्दै गएको प्रधानाध्यापक ओझाले बताईन । भएको सबै जग्गा भोगचलन गर्न पाएको भए विद्यायलको सामान्य खर्च अनि एक जना शिक्षक आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न कुनै समस्या नजहुने प्रधानाध्यापक ओझाले बताईन । तीन वर्षदेखि अध्यापन गराउँदै आएका सञ्जयले वार्षिक १५÷२० हजार पारिश्रमिक लिएर दिनभर काम गरेको देख्दा आफैँलाई अप्ठ्यारो लाग्ने गरेको उनले बताईन ।
उनको इमान्दारिताका अगाडी नतमस्तक हुनुबाहेक कुनै विकल्प नभएको उनले बताईन । भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले विद्यालयमा शिक्षकको व्यवस्थापन अस्तव्यस्त रहेको बताए । केही दिन अगाडि मात्र विद्यालय अनुगमन गर्दा कतै विद्यार्थी अनुपातमा धेरै शिक्षक ते कतै शिक्षकको अभाव भएको पाईएको उनले बताए । आउने शैक्षिकसत्रबाट त्यसलाई व्यवस्थापन गरेर लैजाने तयारी गरेको बताउदै उनले शिक्षक लोनियाको कार्य निकै उत्कृष्ट भएको बताए र्।
अध्ययन अनुमति पत्र नभएका कारण तत्काल लोनियाको विषयमा नगरपालिकाले कुनै निर्णय लिनसक्ने स्थिति नरहेको समेत उनले बताए । अनुगमनका क्रममा कतिपय शिक्षक दुईपटकको हाजिर एकैपटक लगाएर बिहानै विद्यालयबाट घर जाने गएको भेटिएको बताउँदै शिक्षा अधिकृत पङ्खबहादुर शाहले गल्ती कमजोरीलाई सुधार्ने काममा आफूहरू लागेको बताए ।


