फागुन ०५ धनगढी । ऐतिहासिक रूपमा वेद–शास्त्र अध्ययनबाट बञ्चित रहँदै आएको दलित समुदायमा पछिल्ला वर्षहरूमा वैदिक शिक्षाको पहुँच विस्तार गर्ने अभियानले सकारात्मक गति लिएको छ । मल्लिका विद्यापीठ गुरुकुलको उल्लेखनीय भूमिकाले दलित समुदायमा पछिल्ला वर्षहरूमा वैदिक शिक्षाको पहुँच विस्तार गर्ने अभियानले सकारात्मक गति लिएको हो ।
गुरुकुलले विभिन्न समुदायका युवालाई वेद अध्ययन तथा वैदिक संस्कार सम्बन्धी ज्ञान प्रदान गर्दै सामाजिक समावेशिताको सन्देश फैलाउँदै आएकाले गुरुकुलबाट प्रशिक्षित युवा सुरेश सनातनी आर्य हाल वैदिक पुरोहित सेवामा सक्रिय रहेका छन । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ७, पोखरा भट्टगाउँमा जन्मिएका आर्य वैदिक शिक्षा हासिल गरेपछि समाजमा विद्यमान अन्धविश्वास, छुवाछूत तथा विभेदकारी सोचविरुद्ध चेतना फैलाउने कार्यमा जुटेका छन ।
विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रममा वैदिक विधि अनुसार पूजापाठ र संस्कार सञ्चालन गर्दै उनले पुरोहितको भूमिका निर्वाह गरिरहेका छन । स्थानीय स्तरमा उनको सक्रियतालाई सामाजिक परिवर्तनको सकारात्मक संकेतका रूपमा हेरिएको छ । समुदायका अगुवाहरूका अनुसार वैदिक शिक्षामा सबै समुदायको पहुँच सुनिश्चित हुनु सामाजिक समानता र चेतना विस्तारका लागि महत्वपूर्ण कदम हो ।
गुरुकुलले समेत वैदिक शिक्षा कुनै एक समुदायमा सीमित नभई सबैका लागि खुला हुनुपर्ने सन्देश दिँदै आएको छ । यस प्रकारका प्रयासहरूले परम्परागत रूपमा पछि पारिएका समुदायमा आत्मविश्वास बढाउनुका साथै सामाजिक रूपान्तरणमा टेवा पुग्ने विश्वास गरिएको छ ।


