फागुन ०४ बैैतडी । बैतडीका ८४ वटै वडामा मतदाता शिक्षा स्वयंसेवक खटाइएको छ । निर्वाचन आयोगको कार्यक्रम अनुसार आइतबारदेखि ८४ वटै वडामा मतदाता शिक्षा स्वयंसेवक खटाइएको हो । जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले प्रत्येक वडामा एक जनाका दरले मतदाता शिक्षा स्वयंसेवक खटाइएको जानकारी गराए ।
मतदाता शिक्षा स्वयंसेवकहरुलाई आवश्यक तालिम दिएर उनीहरुलाई मतदाता शिक्षाका लागि खटाइएको जिल्ला निर्वाचन अधिकारी भारतीले बताए । मतदाता शिक्षा स्वयंसेवकहरुले नमूना मतपत्र सहित घरघरमा गएर मतदान गर्ने तरीकाका बिषयमा सिकाइरहेको जिल्ला निर्वाचन अधिकारी भारतीले बताए ।
निर्वाचनमा बढीभन्दा बढी मतदाताहरुको सहभागिता गराउने र बदर मतको संख्या घटाउनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको भारतीले बताए । फागुन १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रममा सहभागिताका लागि सबैलाई आग्रह गरिएको भारतीले बताए ।
घरघरमा आउने मतदाता शिक्षा स्वयंसेवकहरुसँग मतदान गर्ने सही तरीकाका बारेमा सिक्न समेत उनले मतदातालाई आग्रह गरे । प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १ लाख ५६ हजार ३ सय ७२ जना मतदाता रहेका छन् । प्रतिनिधि सभा सदस्यका लागि ११ जना चुनावी प्रतिस्पर्धा रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जानजकारी गराएको छ ।


