फागुन ०३ बैतडी । बैतडीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मध्ये ६ जना उम्मेदवारले अझै बैंक खाता खोलेका छैनन् । निर्वाचन आचारसंहिता २०८२ को दफा १६ को (ख)मा उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयको सिफारिशमा बैंक खाता खोलेर आम्दानी तथा खर्च गर्न पाउने व्यवस्था रहेको भए पनि ६ जना उम्मेदवारले अझै बैंक खाता नखोलेका हुन ।
उक्त व्यवस्था अनुसार उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयको सिफारिशमा बैंक खाता खोलेर चुनावका बेला खर्च गर्न पाउने जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी गराए । बैतडीका ११ जना उम्मेदवार मध्ये अहिले सम्म ५ जनाले मात्रै खाता खोलेको जानकारी गराउदै उनले ६ जनाले अहिलेसम्म खाता नखोलेको बताए ।
नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारी, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार नवराज कोइराला, आमजनता पार्टीका उम्मेदवार विसनसिह बोहरा, नेकपाका उम्मेदवार परमानन्द भट्ट, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उम्मेदवार रामबहादुर कुँवर र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तले बैंक खाता नखोलेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी गराए ।
नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्द, राप्रपाका उम्मेदवार भुपेनबहादुर चन्द, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार आनसिंह भण्डारी, रास्वपाका उम्मेदवार हरिमोहन भण्डारी र श्रमसंकृति पार्टीका उम्मेदवार गजेन्द्रराज पाण्डेयले बैंक खाता खोलिसकेको उनले जानकारी गराए । बैंक खाता नखोल्ने उम्मेदवारहरुलाई यही फागुन ५ गतेभित्र खाता खोलि सक्न आग्रह गरिएको जिल्ला निर्वाचन अधिकारी भारतीले जानकारी गराए ।
शनिबार बसेको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले बैंक खाता नखोलेका उम्मेदवारहरुलाई खाता खोल्न आग्रह गर्ने निर्णय गरेको उनले बताए । निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले चुनावको समयमा गर्ने आम्दानी र खर्च सोही बैंक खाताबाट गर्नु पर्ने उनले बताए । निर्वाचन सम्पन्न भएपछि आयोगलाई बुझाउने खर्च विवरण समेत सोही बैंक खाताका आधारमा बुझाउनु पर्ने दयालले जानकारी गराए ।
उम्मेदवारले चुनावी प्रयोजनका लागि बैंक खाता खोल्नु अनिवार्य रहेकाले निर्वाचन आचारसंहिता अनुगमन समितिले खाता नखोलेका उम्मेदवाहरुलाई यथाशीघ्र खाता खोल्न आग्रह गरेको उनले बताए । निर्वाचन आचारसंहिता अनुसार कुनैपनि उम्मेदवारले निर्वाचनमा हुने खर्च तथा प्राप्त गर्ने सहयोग बैंकिङ प्रणालीबाट मात्रै गर्नु पर्ने बताउदै उनले २५ हजार भन्दा बढीको सहयोग तथा खर्च बैंकबाटै र त्यस भन्दा कमको नगदै लेनदेन गरे पनि रसिदहरू भने दाखिला गर्नुपर्ने जानकारी गराए ।


