फागुन ०३ धनगढी । कैलाली जिल्लामा माघ महिनामा ५९ वटा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले माघ महिनामा ५९ वटा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जानकारी गराएको हो । सवारी दुर्घटना र राजस्व संकलन सम्बन्धी प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले उक्त कुराको जानकारी गराएको हो ।
माघ महिनामा कुल ५९ वटा सवारी दुर्घटना भएको जानकारी गराउदै प्रहरीले दुर्घटनामा ७० वटा सवारी साधन संलग्न रहेको र ८ जनाको मृत्यु हुनुका साथै ६९ जना घाइते भएको बताएको हो । सवारी दुर्घटनामा चालकको गल्तीका कारण ४२ वटा दुर्घटना भएको जानकारी गराउदै ९ वटा दुर्घटना यात्रुको कारणले भएको प्रहरीले जानकारी गराएको छ ।
त्यसैगरी सवारी नियम उल्लङ्घन गर्ने १ हजार ३ सय ७९ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ भने ११ लाख ५२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जानकारी गराइएको छ । त्यसैगरी सडक सुरक्षा र ट्राफिक नियम सम्बन्धी जनचेतना बढाउन माघ महिनामा ३९ वटा चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी गराईएको छ ।


