फागुन ०३ कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर स्थित महेन्द्र स्मारकमा आइतबार फागुन ३ गते महाशिव रात्रीको अवसरमा स्व. राजा महेन्द्र वीरविक्रम शाहदेवको सालिक पुनस्र्थापना गरिएको छ । लामो समय देखि स्थानीय बासिन्दाले माग आएकोमा महाशिवरात्रीको दिन चयन गरी स्व. राजा महेन्द्र वीरविक्रम शाहदेवको सालिक पुनस्र्थापना गरिएको हो ।
कार्यक्रममा स्थानीय नागरिक, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो । सालिक पुनस्र्थापनालाई ऐतिहासिक स्मृति र सांस्कृतिक पहिचान संरक्षणको महत्वपूर्ण कदमका रूपमा लिइएको छ । स्थानीय बासिन्दाका अनुसार महेन्द्रनगरको नाम र पहिचान राजा महेन्द्रसँग प्रत्यक्ष रूपमा जोडिएकाले स्मारकमा उनको सालिक पुनःस्थापना हुनु स्वाभाविक र आवश्यक थियो ।
यसअघि सालिक नहुँदा शहरको ऐतिहासिक निरन्तरतामा खालीपन महसुस हुँदै आएको उनीहरूको भनाइ छ । कार्यक्रममा बोल्ने वक्ताहरूले विकास केवल भौतिक पूर्वाधारमा सीमित नहुने, ऐतिहासिक स्मृति र सांस्कृतिक मूल्यको संरक्षण पनि उत्तिकै आवश्यक हुने बताएका छन । उनीहरूले नयाँ पुस्तालाई इतिहाससँग जोड्न यस्ता स्मारकको भूमिका महत्वपूर्ण हुने उनीहरुले बताएका छन । स्थानीय समुदायको सामूहिक प्रयास, आर्थिक सहयोग र व्यावस्थापनबाट सालिक पुनस्र्थापना सम्पन्न गरिएको हो ।


