फागुन ०२ बाजुरा । बाजुराको गुम्बा गाउँ उम्मेदवार नपुग्ने गाउँका रूपमा परिचित रहेको छ । जिल्ला सदरमुकाम मार्तडीबाट निकै दुर्गम तथा आवत जावत असहज हुने भएकाले गुम्बा गाउ उम्मेदवार नपुग्ने गाउँका रूपमा परिचित रहेको हो ।
मार्तडीबाट झण्डै दुई सय किलोमिटर तथा पालिका केन्द्रबाट करिब १ सय ५० किलोमिटर दूरीमा रहेको उक्त गाउँमा पैदलै दुई–चार दिन हिँडेर पुग्नुपर्ने भएकाले उम्मेदवारहरू पुग्न कठिन हुने गरेको स्थानीयवासीले बताएका छन ।
गाउँ अत्यन्त दुर्गम भएकाले पुस्तौँ देखि अहिले सम्म धेरैजसो उम्मेदवारहरू नपुगेको उनीहरुले बताउने गरेका छन । गाउँमा करिब ६५ घरपरिवार जनजाति समुदायको बसोबास रहेको छ भने मतदाताको सङ्ख्या पनि करिब त्यही हाराहारीमा रहेको छ । सडक सुविधा नहुँदा जिल्लाकै दुर्गम बस्ती मध्ये एक मानिने उक्त गाउँमा उम्मेदवारहरू मत माग्न प्रायः नआउने गरेका हुन ।
सडक त के, पहिले घोडेटो बाटो समेत नभएकाले ज्यान जोखिममा राखेर भिरालो बाटो हुँदै आवत जावत गर्नुपर्ने अवस्था भएको बताइएको छ । हिमाली गाउँपालिका–३ का स्थानीय जसबहादुर भण्डारीले २०७६ सालमा पालिकाले स्थानीयलाई केही सहज हुने गरी घोडेटो बाटो निर्माण गरिदिए पछि आवत जावतमा केही सुधार आएको बताए ।
अझै पनि अधिकांश उम्मेदवारहरूले गाउँ पुगेर मत नमागेको उनलदे बताए । गाउँ अत्यन्त दुर्गम भएकाले उम्मेदवार मात्र नभई अन्य व्यक्तिहरू पनि कमै पुग्ने गरेको उनले बताए । गाउँमा मुख्यतः भोटे जनजातिको बसोबास रहेको बताउदै उनले उनीहरू भेडा, बाख्रा, घोडा तथा चौँरी पालनमा निर्भर भएको बताए । स्थानीय नरी रोकायाले सडक नहुँदा गाउँबाट पालिका केन्द्रसम्म आवत जावत गर्न निकै कठिनाइ हुने गरेको बताए ।
पहिला घोडेटो बाटो समेत नहुँदा स्थानीयले डोरीको सहारामा भिर पार गर्दै आवत जावत गर्नुपर्ने अवस्था रहेको बताउदै उनले गत वर्ष पालिकाले घोडेटो बाटो निर्माण गरेपछि अहिले आवत जावतमा केही सहजता भएको बताए । निर्वाचनका बेला उम्मेदवारहरू भने अझै पनि गाउँ नपुग्ने गरेको उनले बताए । गुम्बा गाउँ जिल्लाकै दुर्गम बस्ती भएकाले राजनीतिक कार्यक्रम तथा नेताहरूको उपस्थिति पनि न्यून हुने गरेको वडा अध्यक्ष मङ्गल बुढाले जानकारी गराए ।
गाउँमा हालसम्म सडक सञ्जाल विस्तार हुन नसकेकाले विकासका अन्य गतिविधि सञ्चालन गर्न पनि कठिनाइ भइरहेको उनले बताए । हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले २०७९ सालको निर्वाचनका क्रममा आफू गाउँ पुगेको बताए । प्रदेश तथा सङ्घीय तहका उम्मेदवारहरू भने अझै पनि त्यहाँ नपुगेको उनले बताए ।
गाउँका मतदाताहरू उम्मेदवारको प्रत्यक्ष भेटको प्रतीक्षामा भए पनि धेरैजसो अवस्थामा आफूले चिनेकै व्यक्तिलाई मतदान गर्ने गरेको उनले बताए । यस वर्ष पनि अहिले सम्म कुनै उम्मेदवार गाउँ नपुगेको स्थानीयले बताएका छन् । गाउँस्थित हिमालभक्ति माध्यमिक विद्यालयमा मतदान केन्द्र रहेको छ ।


