समाज सभ्यताको उत्कर्षतर्फ उन्मुख भई रहेको अबश्थामा विद्यालय जस्तो ज्ञान, समानता र मानवीय मूल्य सिकाइने पवित्र स्थानमा जातीय विभेद हुन्छ भन्ने कुराको कसैले विश्वास गर्दैनन होला । पवित्र स्थानमा जातीय विभेद जस्तो घटना घट्नु अत्यन्तै लज्जास्पद र चिन्ताजनक विषय हो । कृष्णपुर नगरपालिका स्थित एउटा विद्यालयमा सरस्वती पूजाको अवसरमा शिक्षक गजराम सार्कीलाई गरिएको जातीय विभेदले मानव सभ्यताको खिल्ली उडाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर कुमार भण्डारीले गरेको जातीय विभेदले समाजको वास्तविक अनुहार उजागर गरेको छ । सार्वजनिक स्थलमा अन्य शिक्षकलाई टीका लगाइदिदा शिक्षक सार्कीलाई टीका नलगाई पातमा राखेर हातमा दिनु सामान्य व्यवहार नभई जघन्य अपराध हो । यस्तो जातीय विभेद र अपमानजनक कार्य गर्ने ब्याक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जस्तो गरीमामय पदमा बस्नुले पनि समाजलाई कस्तो बाटोमा डो¥याई रहेको छ भन्ने कुरा स्पष्ट गरेको छ ।
यो घटनाले कानुनको मात्र होइन, नैतिकताको पनि गम्भीर उल्लंघन गरेको छ । शिक्षक महासंघ कृष्णपुर नगर समितिले घटनाविरुद्ध आवाज उठाउदै अध्यक्षलाई पदबाट हटाएर कानुनी कारबाही गर्न माग गर्नु समय सापेक्ष र स्वागतयोग्य कदम हो । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ ले सार्वजनिक स्थानमा जातीय आधारमा गरिने विभेदलाई दण्डनीय अपराध मानेको भए पनि यस्ता घटना दोहोरिनु राज्यका निकाय र समाज दुवैको असफलता हो ।
यो घटना केवल एक शिक्षकको व्यक्तिगत अपमानमा सीमित नभई यसले सम्पूर्ण शिक्षक समुदायको आत्मसम्मानमा चोट पु¥याएको छ । शिक्षकलाई नै यस्तो व्यवहार गरिन्छ भने विद्यार्थी र समाजमा कस्तो सन्देश जान्छ भन्ने गम्भीर प्रश्न उठएको छ । विद्यालयले समानता, सम्मान र समावेशिताको पाठ पढाउनु पर्नेमा जातीय विभेद गरिनु आफैमा लज्जाष्पद विषय हो ।
घटनाको निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनु आजको आवश्यकता हो । जातीय विभेद विरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमा लागू नगरे सम्म यस्ता अमानवीय घटना नरोकिने भएकाले कारबाही गर्न जरुरी छ । समाज मौन बस्ने हो भने, जातीय विभेद मौलाउँदै जाने छ र सभ्य समाजको सपना केवल नारामै सीमित हुने छ । जातीय विभेद परम्परा नभई अपराध भएकाले जातीय विभेद गर्नेलाई हदै सम्म्को कारबाही गर्न जरुरी छ ।

