‘फागुन ०१ धनगढी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्ने बताएका छन् ।
धनगढी उपमहानगरपालिकाद्वारा आयोजित ‘सीप तथा रोजगार मेला–२०८२’ को शुक्रबार अवलोकन गर्दै उनले यस्तो बताएका हुन् । उनले युवाहरूले विभिन्न प्राविधिक तथा व्यवसायिक सीप सिकेर स्वरोजगार एवं आत्मनिर्भर बन्न सक्ने बताउँदै यस्ता खालका तालिम तथा कार्यक्रमलाई सरकारले पनि प्राथमिकता दिनुपर्ने बताए ।
उनले वैदेशिक रोजगारीमा जानेहरूका लागि पनि सीप अनिवार्य रहेको बताउदै सीपयुक्त जनशक्तिले श्रमको उचित मूल्य पाउने बताए । सीप सिकेपछि स्वदेशमै उद्यम गर्न सकिने बताउदै उनले विदेश जाँदा पनि दक्ष जनशक्तिको माग उच्च हुने बताए । सीप अनुसारको पारिश्रमिक पाइने बताउदै पूर्वमन्त्री आलेले यस्ता कार्यक्रमले युवालाई आत्मनिर्भर बन्न प्रेरित गर्ने बताए ।
राज्यले सीप विकास र रोजगारी सृजनामा थप लगानी गर्नुपर्ने उनले बताए । धनगढी उपमहानगरपालिकाद्वारा आयोजित सीप तथा रोजगार मेला २०८२ मा ७ विधाका २२ वटा तालिमहरु सञ्चालन भइरहेका छन् । गत माघ ५ गतेबाट सञ्चालन भएको मेला एक महिना सम्म सञ्चालन हुने आयोजकले जानकारी गराएको छ ।


