माघ २८ दार्चुला । दार्चुलाको महाकाली लोकमार्ग अन्तर्गत पर्ने खलङ्गा–गोकुलेश्वर सडक खण्डको धौलीगाड खोलामा विगत १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको मोटरेबल पुलको निर्माण कार्य सुरु भएको छ । सङ्घीय सरकारले पुलको बाँकी काम सम्पन्न गर्न बजेट विनियोजन गरेपछि १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माणको कार्य सुरु भएको हो ।
पुल निर्माणका लागि सरकारले चालु आर्थिक बर्ष २०८२÷८३ मा दुई करोड रुपैयाँ विनियोजन गरेको नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गत सडक डिभिजन, कार्यालय बैतडीका इन्जिनियर एवं सूचना अधिकारी कपिलप्रसाद पन्तले जानकारी गराए ।
पुलको बायाँतर्फको पिल्लरको निर्माण करिब ७० प्रतिशत भएकोमा बाँकी संरचनाको निर्माण गर्नुपर्ने उनले बताए । आर्थिक बर्ष २०७०÷७१ मा धनगढीको आशिष कन्स्ट्रक्सन निर्माण कम्पनीसँग पुल निर्माण गर्न सम्झौता भएर काम सुरु गरेको कम्पनीलाई जग्गाधनीले रोकेपछि पुल निर्माणको काम रोकिएर अलपत्र परेको उनले जानकारी गराए ।
पुल निर्माण कम्पनीले उतिबेला एकतर्फको पिल्लर मात्रै निर्माण गरेको उनले बताए । जिल्ला सदरमुकाम खलङ्गा नजिकै महाकाली नगरपालिका वडा नम्बर–५, गल्फैस्थित पुल निर्माण हुने स्थानमा रहेको जमिनको मुआब्जा वितरणमा ढिलाइ हुँदा पुल निर्माणको कामपछि धकेलिएको उनले बताए ।
त्यस क्षेत्रका सात÷आठ जना जग्गाधनीले सरकारी मूल्य अनुसारको मुआब्जा दिलाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि पुल निर्माणको काम पूर्णतया रोकिएको उनले बताए । जग्गाधनीले मुआब्जा प्राप्त गरेपछि पुल निर्माणको बाटो खुलेपछि पुल निर्माणको काम सूरु गरिएको उनले जानकारी गराए ।
पुलको बाँकी संरचना निर्माण गर्न पुरानै निर्माण व्यवसायी आशिष कन्स्ट्रक्सनसँग २०८३ असार १५ गते कार्य सम्पन्न गर्न नयाँ सम्झौता गरिएको उनले जानकारी गराए । महाकाली कोरिडोर अन्तर्गतको धौलीगाड खोलामा मोटर पुल निर्माण हुन नसक्दा बर्षातमा वारपार गर्न छोटो तथा लामो दुरीका सवारी साधनलाई निकै समस्या हुने गरेको स्थानीयले बताएका छन् ।
खोलामा २५ मिटर लम्बाइको स्पान पुल निर्माण गरिने इन्जिनियर पन्तले जानकारी गराए । तोकिएको समयावधि भित्रै पुल निर्माण गर्ने गरी बाँकी संरचनाको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि लालबहादुर चन्दले बताएका छन ।


