माघ २८ बैतडी । बैतडीमा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाइने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता र बदर मत नहोस भन्ने उद्देश्यले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाइने भएको हो । जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाइने जानकारी ग राएका हुन ।
आगामी फागुन ३ गतेदेखि प्रत्येक वडामा सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र निर्वाचन सम्पर्क व्यक्तिहरुसँग मंगलबार छलफल तथा अन्तरक्रिया गरिएको निर्वाचन अधिकारी भारतीले बताए ।
मतदाता शिक्षा कार्यक्रममा खटिने मतदाता शिक्षा स्वयंसेवकहरुलाई आ–आफ्नो स्थानीय तहमा सक्रियताका साथ खटाउने बिषयमा उनीहरुसँग छलफल गरिएकोे भारतीले जानकारी गराए । बैतडीका ८४ वटै वडामा ८४ जना मतदाता शिक्षा स्वयंसेवक खटिने उनले बताए । उनीहरुले मतदान गर्ने बिषयमा मतदाताहरुलाई जानकारी गराउने उनले बताए ।
सही तरीकाले मतदान गर्ने बिषयमा स्वयंसेवकहरुले मतदातालाई उनीहरुकै घरदैलोमा पुगेर जानकारी गराउने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी गराए । बदर मतको संख्या घटाउनका लागि मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालयले जानकारी गराएको छ ।


