माघ २८ बैतडी । बैतडीमा घर नजिकै युवकको शव भेटिएको छ । सिगास गाउँपालिका वडा नम्बर–१ दुदीलाखानका अन्दाजी ३६ वर्षीय खडक बिष्टको घर नजिकै शव भेटिएको हो । आइतबार बिहान घरबाट हिँडेका विष्टको मंगलबार बिहान स्थानीयले घर नजिकैको बाटोमा घोप्टो परेको अवस्थामा उनको शव देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले जानकारी गराएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक सुरज सिंहले बाटोमुनी बिष्ट मृत अवस्थामा भेटिएको घटनाबारे अनुसन्धान भइरहेको जानकारी गराएका छन । घटनास्थलमा इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको उनले बताए ।
स्थानीय वासीका अनुसार बिष्टको शरीरमा नीलडाम देखिएकाले घटनाको निस्पक्ष छानबिन हुनुपर्ने माग गरिएको छ । आफन्तले कुटपिट गरी हत्या गरिएको आशंका व्यक्त गर्दै सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नु पर्ने बताएका छन ।
आफन्त लोकेन्द्र भण्डारीले शरीरभरि नीलडाम देखिएको बताए । नजिकैको बजारमा सामान्य विवाद भएको जानकारी आएको बताउदै उनले निष्पक्ष अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताए ।


