माघ २६ बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै बैतडीमा मतदान स्थलको निरीक्षण कार्य भइरहेको छ । जिल्ला सुरक्षा समितिको तर्फबाट मतदान स्थलको निरीक्षण भइरहेको हो । प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले सुरक्षाको दृष्टिकोणले बैतडीका एक सय २९ वटा मतदान स्थल मध्ये ३३ वटा अतिसंवेदन शीलको सूचीमा रहेको जानकारी गराए ।
त्यसैगरी २८ वटा मतदान स्थल संवेदनशील र ६८ वटा मतदान स्थल सामान्य सूचीमा रहेको उनले बताए । अतिसंवेदनशील मतदान स्थललाई प्राथमिकतामा राखेर अनुगमन तथा निरीक्षणको काम भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । अहिले सम्म ३० वटा भन्दा बढी मतदानस्थलको निरीक्षण गरिएको उनले बताए ।
डिलाशैनी, सिगास, दोगडाकेदार र सुर्नया गाउँपालिकाका मतदान स्थलको निरीक्षण कार्य बाँकी रहेको र अन्य पालिकाका केही मतदान स्थलको निरीक्षण कार्य गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
जिल्लामा अतिसंवेदनशील सूचीमा रहेका सबै मतदानस्थलको निरीक्षण गर्ने योजना रहेको जिल्ला सुरक्षाा समितिले जनाएको छ । निरीक्षणका क्रममा मतदान स्थलको अवस्था, सुरक्षा व्यवस्था र भौतिक पूर्वाधारको अवलोकन गर्नुका साथै स्थानीय जनप्रतिनिधि, नागरिक अगुवासँग छलफल गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
निर्वाचनका बेला खटिने कर्मचारीको आवास सुविधा, विद्युत, खानेपानी लगायत आधारभूत कुराको उपलब्धता सम्बन्धी अवस्थाको पनि निरीक्षण भइरहेको उनले बताए । कतिपय मतदान स्थल तथा केन्द्रमा सिसिटीभी क्यामेराको व्यवस्था आवश्यक देखिएकाले त्यसको व्यवस्थापनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
जिल्लामा एक सय २९ वटा मतदान स्थलमा दुई सय १४ मतदान केन्द्र रहेका छन । जिल्ला निर्वाचन कार्यालयका अनुसार बैतडीमा एक लाख ५६ हजार तीन सय ७२ जना मतदाता रहेका छन् ।


